खोप अभाव हुँदा अभियान प्रभावित



बैतडी ।

बैतडीमा कोरोनाविरुद्धको खोप अभाव हुँदा कोरोनाविरुद्धको अभियान प्रभावित भएको छ । बालबालिकालाई दिइने दोस्रो मात्राका लागि र बुस्टर डोज दिन खोप अभाव भएको हो । ‘जिल्लामा खोप अभाव भएकाले तत्कालै बुस्टर डोज लगाउने अभियान सञ्चालन गर्न नसकिने भएको छ ।’ –स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, जेष्ठ नागरिकलगायत लाई बुस्टर डोज लगाउने अभियान सञ्चालन गरेको थियो ।

खोपको मौज्दात भएका जिल्लाहरुमा बुस्टर डोज लगाउने अभियान शुरु भए पनि खोपको अभाव भएका जिल्लाहरुमा यो अभियान सञ्चालन हुन नसकेको उहाँको भनाइ छ । ‘खोपको माग गरिएकाले आपुर्ती हुने वित्तिकै बुस्टर डोज दिन्छौं’, भट्टले भन्नुभयो– ‘अहिले जिल्लामा १० हजार खोप मात्रै मौज्दात छ, उक्त मौज्दात खोप दोस्रो मात्रा दिनलाई मात्रै पुग्छ ।’

कोरोनाविरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएका लक्षित समूहका व्यक्तिहरुलाई बुस्टर डोज दिइने गर्दछ । यसबीच १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन भनिए पनि बालबालिकाहरुलाई कोरोनाविरुद्ध दिइने मोडर्ना खोपको अभाव भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मोडर्ना खोपको पहिलो मात्रा ३१ हजार १ सय ७५ बालबालिकाले लगाइसकेका छन् । जिल्लामा ३८ हजार बढी बालबालिका १२ देखि १७ वर्ष उमेर समूहका रहेका अनुमान गरिएको छ । खोप लगाउनका छुटेका बालबालिकाका लागि खोप अभाव भएको स्वास्थ्य प्रमुख भट्टले बताउनुभयो । बैतडीमा १ लाख नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् । भारतसँग सीमा जोडिएको यस जिल्लामा हालसम्म संक्रमणका कारण १९ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्