९ वर्षपछि फरार अभियुक्त पक्राउ



काभ्रे, (नेस) ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका युवालाई ९ वर्षपछि पक्राउ गरेको छ । माघ ४ गते साँझ विशेष प्रहरी टोलीले साविक चलाल गणेशस्थान गाविस–३ हाल बेथानचोक गाउँपालिका–४ बस्ने वर्ष २५ का फौदे भन्ने पोते तामाङलाई नियन्त्रणमा लिई अदालतमा बुझाइएको प्रहरी प्रवक्ता डीएसपी हरि खतिवडाले बताउनुभयो ।

२०६९ कात्तिक ८ गते काभ्रेपलाञ्चोक चलाल गणेशस्थान गाविस–२ स्थित गणेश निम्न माध्यमिक विद्यालयको सांस्कृतिक कार्यक्रममा आएका मानिसमध्ये काभ्रेपलाञ्चोक जिल्ला च्यासिंगखर्क गाविस–९ का र चलालगणेशस्थान गाविस–३ का मानिसहरु बचि झगडा हुँदा काभ्रेपलाञ्चोक जिल्ला च्यासिंग्खर्क–९ बस्ने वर्ष १८ का एन्जल तामाङलाई फौदे भन्ने पोते तामाङ समेतले धारिलो हतियार छुरा, लाठी मुक्का प्रहार गरी कर्तव्य गरेको मुद्दा दर्ता भएको थियो ।

इलाका प्रहरी कार्यालय बनेपाबाट मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानपश्चात् अभियोग जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दायर गरिएको थियो । २०७४ असार १४ गते अदालतको फैसलाले फौदे भन्ने पोते तामाङलाई २० वर्ष कैद सजाय ठहर गरिएको थियो । उनै फरार रहेका फौदे भन्ने पोते तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्