एट्लेटिको अन्तिम १६ बाटै बाहिरियो



मेड्रिड, (एजेन्सी) ।

स्पेनिस ला लिगा फुटबलको गत सिजनको उपाधि च्याम्पियन एट्लेटिको मेड्रिड यो सिजन कोपा डेल रे फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । क्वार्टरफाइनल प्रवेशका लागि बुधबार राति भएको निर्णायक खेलमा एट्लेटिकोलाई ला लिगा टोली रियल सोसिडाडले २–० गोलअन्तरको एकपक्षीय नतिजाको सिकार बनायो । सोसिडाडको घरेलु मैदानमा पाहुना टोली बनेर गएको एट्लेटिकोमा लगातार दोस्रो प्रतियोगितामा स्तब्ध बनेको हो ।

तीन दिनअघि मात्रै एट्लेटिको साउदी अरेबियामा भएको सुपर कपको सेमिफाइनलमा एट्लेटिक बिल्बाओसँग २–१ ले पराजित भएको थियो । सुपर कप हारेको तीन दिनकै बीचमा एट्लेटिको कोपाको अन्तिम १६ बाटै आउट हुन पुग्यो । अब डिएगो सिमोनीमाथि लगातार दुई प्रतियोगिता हारेपछि चर्को दबाब बढेको छ ।

सोसिडाडले आफ्नो घरेलु मैदानमा खेलको ३३औं मिनेटमा गोल गरेर पहिला अग्रता लिएको थियो । अडनान जानुजाजले गोल गरेर एट्लेटिकोलाई झट्का दिएका थिए । त्यसपछि दोस्रो हाफ सुरू भएको दुई मिनेटमै सोसिडाडले दोस्रो गोल पनि गर्यो । यसपटक अलेक्जान्डर सोर्लथले गोल गरेर खेल २–० बनाए । त्यसपछि बाँकी समयभरि एट्लेटिको खेलमा फर्किन नसक्दा सोसिडाडले खेल २–० ले जित्यो ।

यो जितसँगै सोसिडाड कोपाको क्वार्टरफाइनल प्रवेश गरेको छ । यसअघि इस्पान्योल, क्याडिज, रायो भालेकानो, भ्यालेन्सिया पनि क्वार्टरफाइनल प्रवेश गरिसकेका छन् भने ला लिगाको उपाधि होडमा रहेको सेभिया रियल बेटिससँग २–१ ले पराजित भएर कोपाबाट आउट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्