दयालको पुस्तक ‘खपर्‍या’ प्रकाशित



काठमाडौं, (नेस) ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबीचको द्वन्द्व र सृजित विभेद’ नामक पुस्तक प्रकाशित भएको छ । पुस्तक प्रज्ञा–प्रतिष्ठानको संस्कृति विभागको अनुसन्धान परियोजनाअन्तर्गत संविधान सभा सदस्यसमेत रहनुभएका लेखक पुरनसिंह दयालले लेख्नुभएको हो ।

प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवम् संस्कृति विभाग प्रमुख डा. जगमान गुरुङका अनुसार लेखक दयालले संक्रमणकालीन द्वन्द्वका पात्र खपर्‍यालाई मूल विषय बनाएर लुकेको इतिहासको उत्खनन गर्नुभएको छ । उहाँले पुस्तकमा ओझेलमा पारिएका पात्र, इतिहास र प्रवृत्तिलाई निकै ठूलो मेहनतका साथ बाहिर ल्याउनुभएको छ । यस पुस्तकले सिङ्गो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायतका कुमाउँमण्डलका लागि समेत खपर्‍याको विषयमा प्रस्ट पार्ने भएका कारण पुस्तक ज्यादै महत्वपूर्ण रहेको छ ।

२०५ रुपियाँ मूल्य रहेको पुस्तक प्रज्ञा प्रतिष्ठानको पुस्तक बिक्री कक्षका साथै आधिकारिक विक्रेता मकालु प्रकाशन गृहको बिक्री कक्ष र देशका सातओटै प्रदेशमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्