युवक हत्या प्रकरण : पक्राउ परेका नवराजले पनि स्वीकारे अपराध

शव एक हप्तादेखि अस्पतालमै



बैतडी ।

बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका नवराज अवस्थीले पनि अपराध स्वीकार गरेका छन् । सुर्नया–६ घर भएका नवराजलाई प्रहरीले शनिबार नियन्त्रण लिइएको थियो । यसअघि हत्यामा संलग्न रहेका सोही ठाउँका २३ वर्षीय हरीश अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनले हत्यामा नवराजको पनि संलग्नता रहेको भन्दै प्रहरीसामु बयान दिएका थिए ।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार नवराजले पनि अपराध स्वीकार गरिसकेका छन् । ‘नवराजमाथि शंका लागेर नियन्त्रणमा लिएका थियौं, सोधपुछ गर्दै जाँदा उनले अपराध स्वीकारेका छन् ।’ –उहाँले भन्नुभयो ।

नवराजमाथि मंगलबार कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरी हिरासतमा रहेका हरीशमाथि भने ७ दिनको म्याद थपेर अनुसन्धान जारी रहेको जनाइएको छ । गएको मंसिर १४ गतेदेखि हराईरहेका डम्मरको शव गत पुस २८ गते घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा गाडेको अवस्थामा फेला परेको थियो ।

यसअघि डम्मरको हत्यामा संलग्न रहेका हरीशले आफू विप्लव माओवादीबाट अपहरणमा परेको नाटक गरेपछि घटनाको पर्दा खुलेको थियो । उनले डम्मरको हत्या गरेको स्वीकार गरिसकेका छन् । अवस्थीले दिएको बयानकै आधारमा डम्मरको शव फेला परेको थियो ।

शव अस्पतालमै
यता, डम्मरका आफन्तले भने उनको हत्यामा अरूको पनि संलग्नता रहेकाले सबै दोषी पक्राउ नपर्दासम्म शव नउठाउने बताएका छन् । डम्मरको हत्यामा संलग्न सबैको पहिचान भएमात्रै शव बुझ्ने मृतकका दाइ तीर्थराज अवस्थीले बताउनुभयो ।

डम्मरको शव पोस्टमार्टमपछि जिल्ला अस्पतालमै राखिएको छ । गएको पुस २८ गते शव फेला परेको भए पनि घटनामा संलग्न अन्यलाई खोजी गरी कारबाही गर्नुपर्ने माग राख्दै आफन्तले शव नबुझेका हुन् ।

विप्लव समूह आन्दोलित
डम्मर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सदस्य भएकाले पार्टीले समेत शव बुझ्न इन्कार गरेको छ । पार्टीका कार्यकर्ताहरुले सुर्नया गाउँपालिका केन्द्रमा प्रदर्शनसमेत गरेका छन् ।

हत्यामा संलग्न सबैलाई खोजी गरी कानुनी कारबाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपुर्ती दिनुपर्ने र शहीद घोषणा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको नेपाल कम्युनिस्ट पार्टीका सुर्नयाका सचिव अम्बादत्त अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्