दर्शकबिनै ‘आहा रारा गोल्डकप’ गर्ने तयारी



पोखरा ।

सहारा क्लब पोखराको आयोजना हुन लागेको २० औं संस्करणको ‘आहा–रारा गोल्डकप प्रतियोगिता’ दर्शक विना गर्ने तयारी भएको छ । नेपालमा समेत कारोनाको तेस्रो लहर दैनिक बढ्न थालेपछि दर्शक विना प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

मंगलबार प्रतियोगिता तयारीबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिदैँ क्लबका अध्यक्ष सुरज गुरुङले राज्यले जारी गरेको स्वास्थ्य मापदण्डलाई ख्यालमा राखी प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिए । ‘हाम्रा लागि दर्शक प्रतियोगिता उत्तिकै महत्वपूर्ण कुरा हुन् । त्यसो भन्दैमा हामी आम नागरिकको स्वास्थ्यमा खेलवाड गर्न चाहँदैनौं’ उनले भने,‘ सहारा क्लब फुटबलको विकासमा निरन्तर लागेको क्लब हो । हामी खेलकुदलाई रोक्न हुन्न भन्ने लक्ष्यका साथ दर्शक विना पनि प्रतियोगिता गर्न लागेका हौँ ।’

प्रतियोगितामा आयोजक, १ विदेशी क्लबसहित ८ ‘ए’ डिभिजन क्लबहरूको सहभागिता रहने भएको छ । प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैँयाँ तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले अप्रिला स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्