स्थानीय तहमा जनप्रतिनिधिको मनपरी : निर्णय एकातिर, कार्यान्वयन अर्कोतिर



काभ्रे ।

साविक बनखु गाविसको गल्टारमा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी प्रसुती सेवा केन्द्र समेतलाई थप ब्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने गरी स्थानीयले उपलब्ध गराएको जमिनमा भवन निर्माण गर्ने पटक पटकको निर्णय जनप्रतिनिधि निर्वाचित भए लगत्तै अस्विकार गरिएको खुलासा भएको छ ।

‘२०७२ सालसम्म संचालन भएको स्वास्थ्य चौकीको संरचना भुकम्पका कारण क्षति पुर्याएको थियो’–तत्कालिन गाविस अध्यक्ष सुरथ सिं लामाले भन्नुभयो–‘ध्वस्त संरचना पुर्नर्निमाणका लागि नेपाल सरकार, युनिसेफ तथा अन्य दातृ निकायमा माग गर्ने निर्णय गर्यौं तर पनि गल्टारबासीको सपना अधुरै रह्यो ।’ २०७२ साल पुष २८ गते तत्कालिन स्वास्थ्य चौकी प्रमुख मनेन्द्रकुमार शाहले गाउँ विकास समितिका सचिव शम्भु सापकोटाको अध्यक्षतामा स्वास्थ्य संस्थाको भवन निर्माण गर्न, खाता संचालन गर्न, अनमी नियुक्ति अनुमोदन गर्न, गाउँ परिषद्मा बजेट माग गर्न र सामुदायिक स्वास्थ्य इकाईका बारेमा निर्णय गराउनु भएको थियो । उक्त स्वास्थ्य चौकीका नाममा गल्टारमा कित्ता नम्वर ५६८ को ४ रोपनी जमिन २०७२ पुष १४ गते पास भएको थियो ।

स्थानीय तहको निर्वाचन अगावै बनखु गाविस हालको महाभारत गाउँपालिका वडा नम्वर ६ र ७ मा विभाजन भयो । वडा नम्वर १ देखि ६ सम्म वडा नम्वर ६ र वडा नम्वर ७–९ वडा नम्वर ७ मा परिणत भयो । गल्टारमा रहेको स्वास्थ्य चौकी वडाको बीच भागमा राख्ने हो भने सल्लेनीमा पर्छ । विद्यमान कानुन अनुसार स्वास्थ्य संस्थाहरुको स्थानान्तरण गर्नु परेमा सार्वजनिक सुनुवाई, टोल भेलाको निर्णय, वडा कार्यालयको निर्णय, गाउँ सभाको निर्णय पछि प्रदेश वा संघ सरकारले गरेको निर्णय पछि मात्रै हुने ब्यवस्था छ ।

वडा नम्वर ६ का अध्यक्ष रमेशकुमार लुङ्गेलीले बनखुको गल्टारमै स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी अस्पताल बनाउने गरी थप ३ रोपनी जमिन स्थानीयसँग लिने निर्णय गर्नु भयो । उता कानुन र स्थानीयका सहमति विपरित स्वास्थ्य चौकी आफ्नै घर पायक मगर गाउँमा स्थानान्तरण गराउनु भयो । जहाँ स्वास्थ्य चौकीका लागि प्रिफ्याव भवन निर्माण भईसकेको छ ।

एउटा गाविस दुईवटा वडामा विभाजन भए लगत्तै आहाले बाँसपुरमा वडा नम्वर ७ का लागि सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भईसकेको छ । वडा नम्वर ६ को मगर गाउँमा वडा अध्यक्ष लुङ्गेलीले सामुदायिक स्वास्थ्य केन्द्रको अर्को ३६ लाख रुपैयाको भवन पनि निर्माण गरिसक्नु भएको छ । उक्त भवन पनि गल्टारमै बनाउने निर्णय भएको थियो । गल्टारमा अर्को भवन बनाउने मौखिक आश्वासन दिदै वडा अध्यक्ष लुङ्गेलीले उक्त भवन पनि त्यहि बनाउनु भएको थियो । भवन निर्माणाधिन छ ।

एकै स्थानमा दुईवटा भवन निर्माण भई सके पछि पनि तेश्रो भवनका लागि पनि लुङ्गेलीले सोहि स्थान मगर गाउँमा नै निर्माण गर्न निर्माण ब्यवसायी र प्राविधिकहरुलाई दबाब दिनु भएको छ । ‘एकै स्थानमा एउटै प्रयोजनका लागि तीन वटा भवन आवश्यक छैन, पाँच शैयाको भवन निर्माणका लागि मगर गाउँमा जग्गा पनि उपयुक्त छैन’– जिल्ला अयोजना कार्यान्वयन इकाई (भवन) काभ्रेका प्राविधिक प्रज्ज्वल बस्नेतले भन्नुभयो–‘गल्टारमा रहेको स्वास्थ्य चौकीको जमिनको लालपुर्जा राखेर गरिएको बोलपत्र सम्झौता अनुसार ले आउट गर्न जाँदा वडा अध्यक्ष लुङ्गेलीले मगर गाउँमै निर्माण गर्न दबाब दिनु भयो ।’ कानुनी र प्राविधिक दुबै हिसावले मगर गाउँमा भवन निर्माण उपयुक्त नभएको प्रतिबेदन कार्यालयमा बुझाईएको प्राविधिक बस्नेतले जानकारी दिनुभयो । उक्त भवनको बजेट १४ करोड ८२ लाख ३७ हजार रहेको छ । ७ रोपनी जमिन आवश्यक हुने उक्त भवनका लागि मगर गाउँमा सार्वजनिक स्थानमा रहेको ३ रोपनी भित्रको केहि क्षेत्रफल उपलब्ध गराउने प्रयास भएको छ । मगरगाउँमा बन्ने भवन र वडा अध्यक्ष लुङ्गेलीको घर २ सय मीटरको दुरीमा छ ।

महाभारत गाउँपालिका वडा नम्वर ६ स्थित मगर गाउँमा रहेको वडा स्वास्थ्य चौकीको प्रिफ्याव र अर्काे निर्माणाधिन भवन । उक्त भवन हुँदा हुँदै आधारभुत स्वास्थ्य चौकीका लागि निर्माण गरिएको अर्काे ३६ लाखको भवन ।

स्थानीयहरुले वडा सदस्य सुभद्रा माझीको उपस्थितीमा भुकम्प पुर्नर्निमार्ण प्राधिकरण कार्यालय (भवन), महाभारत गाउँपालिका र वडा कार्यालयमा ५० जनाको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउँदै जहाँ निर्णय त्यहि भवन निर्माण गर्न ध्यानाकर्षण गराएका छन् । २०७८ असारमा सम्झौता भएको भवन ६ महिना वितिसक्दा समेत निर्माण हुन सकेको छैन । बनखु सहित अन्य ६ स्थानमा भारतिय दुतावासको सहयोगमा निर्माण हुने भवनहरुको निर्माण कार्य शुरु भई सकेको छ । पोखरीचौरीमा त दोश्रो ढलान भई सकेको छ ।

निर्माण ब्यवसायी धर्मकुमार लामाले वडा कार्यालयको अवरोधका कारण भवन निर्माण कार्य शुरु हुन नसकेको बताउनु भयो । ‘हामीले सम्झौता र इस्टमेट भएको स्थानमा भवन निर्माण गर्न पाएका छैनौं’–निर्माण ब्यवसायी लामाले भन्नुभयो–‘माघ महिनाभर निर्माण कार्य शुरु भएन भने सम्झौता रद्द गर्नु पर्ने हुन सक्छ ।’ १८ महिनाको म्याद पाएको निर्माण कम्पनीले समयमा भवन निर्माण कार्य सम्पन्न गर्न सक्दैन । बर्षात शुरु भए लगत्तै उक्त स्थानको सडक बन्द हुन्छ ।

एउटै स्वास्थ्य संस्थाका लागि तीनवटा भवन एकै स्थानमा आवश्यक नभएको स्थानीयहरुले बताए पनि वडा अध्यक्ष लुङ्गेलीले अस्पताल सहितको भवन मगर गाउँमै बनाउन दबाब दिनुले पदिय दुरुपयोग गरेको वडा सदस्य सुभद्रा माझीले बताउनु भयो । वडा अध्यक्ष लुङ्गेलीले भने दुईवटा भवन एकै स्थानमा भएकाले थप बनाउँदा पूर्वाधार सम्पन्न हुने भएकाले त्यहि बनाउने प्रयास गरिएको बताउनु भयो ।

निर्णय एकातिर कार्यान्वयन चाँहि अर्काेतिर ? किन भन्ने प्रश्नमा वडा अध्यक्ष लुङ्गेलीले स्थानीयहरुको दबाब रहेको बताउनु भयो । ‘स्वास्थ्य चौकी जहाँ स्थानान्तरण भएको छ त्यहि भवन बनाउने हो’– वडा अध्यक्ष लुङ्गेलीले भन्नुभयो–‘मगर गाउँको बिकल्प छैन । अहिले बोलपत्र आब्हान गरिएको भवन मगर गाउँमै बनाउछौं ।’ कागजात एकातिरको भवन अर्कोतिर भन्ने प्रश्नमा वडा अध्यक्ष लुङ्गेलीले भन्नुभयो – ‘केहि फरक पर्दैन ।’ यस अघि बनिरहेको सामुदायिक स्वास्थ्य भवनलाई क्वाटरको रुपमा प्रयोग गर्न सकिने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्