कोभिड स्वास्थ्य अनुशासन अनुगमनको जिम्मा प्रहरीलाई



काठमाडौं ।

कोभिड–१९ संक्रमण रोकथाम गर्न मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश मंगलबार मध्यरातबाट लागू हुने भएको छ । यो आदेश पालना भए/नभएको हेर्ने जिम्मा प्रहरीले पाएको छ ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबारै बसेको बैठकले गत मध्यरातबाट कार्यान्वयन गर्ने गरी यस्तो निर्णय गरेका हुन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको थियो । तीनैवटा जिल्लाका प्रजिअले जिल्लागत आदेश जारी गरेका छन् । आदेशअनुसार माघ मसान्तसम्म आमसभा, जुलुस, भेला सञ्चालन नगर्ने, माघ १५ गतेसम्म विद्यालय, फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोपकार्डलाई अनिवार्य गर्ने निर्णय गरेको थियो ।

होटल र रेस्टुरेन्टमा सेवाग्राहीले अनिवार्य मास्क प्रयोग गर्नुपर्नेछ । यदि मास्क नलगाई आएमा व्यवस्थापकले पाँच रुपियाँ लिई मास्क उपलब्ध गराउनुपर्नेछ । त्यस्तै, सबै मठ–मन्दिरमा नित्य पूजाबाहेक अन्य भीडभाडजन्य कार्य निषेध गरिएको छ । सोमबार मात्रै ४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएपछि काठमाडौं प्रशासनले कडाइ गर्न थालेको हो ।

आदेशमा गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमको उपयोग गर्न पनि भनिएको छ । भौतिकरूपमा उपस्थित भई गर्नुपर्ने भए जनस्वास्थ्यका मापदण्ड पालना गरी बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्न आदेश दिइएको छ ।

प्रशासनले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म सञ्चालन गर्न पनि रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्