बलात्कारपछि हत्या आरोपमा आमाछोरा पक्राउ



बारा, (नेस) ।

बाराको आदर्श कोतवालमा ९ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको तथा दोषी लुकाउने प्रयास गरेको आरोपमा प्रहरीले आमाछोरालाई पक्राउ गरेको छ । आदर्श कोतवाल गाउँपालिका–८ का २० वर्षीय सन्तोष साह कानु र उनकी आमा शान्ति देवीलाई बलात्कारपछि बालिकको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सन्तोषले बलात्कारपछि बालिकाको हत्या गरेको र शान्तिदेवीले हत्याको दोषी लुकाउने प्रयास गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार आदर्श कोतवाल गाउँपालिका–७ कोतवाली निवासी मोतीलाल साह कानुकी छोरी रूपमालाकुमारी साहलाई गत पुस २५ गते बलात्कारपछि हत्या गरेको खुलेको थियो ।

जमुनी खोलाकिनारामा सञ्चालनामा रहेको उनको आफ्नै कुखुरा फर्ममा लगेर बालिकालाई बलात्कारपछि हत्या गरेका थिए । अनुसन्धानको क्रममा पक्राउ परेका सन्तोषले बलात्कारपछि बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरी प्रवक्ता थापाले जनाउनुभयो । बाख्रा चराउने क्रममा तीर्खा लागेर पानी पिउन कुखुरा फर्ममा गएकी बालिका त्यहीबाट बेपत्ता बनेकी थिइन् । खोलाकिनारामा बाख्रा चराउन गएकी रूपमाला बेपत्ता भएको २ दिनपछि शव फेला परेको थियो ।

अभियुक्तहरुको खोजी गर्ने क्रममा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र महतोको कमान्डमा मगाइएको तालिम प्राप्त कुकुरको सहयोगले अभियुक्तलाई पक्राउ गरिएको हो । प्रहरीले सन्तोषका बुबा बिन्देश्वर साह कानुलाई पनि अभियुक्त बनाएको छ । विन्देश्वर र श्रीमती शान्तिदेवीले अपराध पुष्टि हुने दोषी प्रमाणहरु नष्ट गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानको क्रममा बालिकाको घाँटीमा थिचेर टाउकोमा प्रहार गरी हत्या भएको ठहर गरेको थियो । पक्राउ परेका उनीहरुमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा बारा जिल्ला अदालतबाट स्वीकृत लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्