बेथिति नै बेथिति, सुधार कहिले होला ?



पछिल्लो केही वर्षयता मुलुकको जनसंख्या तीव्ररुपले बढेको छ । बढ्दो जनसंख्याको असर प्रकृतिमा पनि देखा पर्न थालिसकेको छ । दैनिक आवासीय क्षेत्रहरुको निर्माण भइरहेका छन् । मुलुकमा घनाबस्ती दिनानुदिन बढिरहेको देखिन्छ । घर बनेका छन् तर खुला ठाउँ छाड्नै कमै मात्र छन् । यता, खुला ठाउँजति सबै मासिसकेका छन् । पहिले–पहिले भएका पाटीपौवा, चौतारा, मठमन्दिर सबै विकासको नाममा मासिसकेका छन् । धर्म वा आमाबुबाको सम्झनामा पनि कतिपयले पाटीपौवा, चौतारा बनाइदिने गरेका थिए । पशु र मानिसहरुलाई पानी खानको लागि ढुंगेधारा, कुवा, ताल, पोखरी बनाइदिने थुप्रै छन् । छहरामा बस्न होस् भनेर रुखका बिरुवाहरु रोपिदिन्थे । त्यहीँ वरपीपलको रुखमुनि बसेर मानिसहरुले थकाइ मार्थे, दुःख–सुखको कुराकानी गर्थे ।

यति मात्र नभएर वरपीपलको रुख धर्मकर्म गर्नको लागि पनि निकै आवश्यक थियो । ढुंगेधारा, कुवामा पनि पानी आउँथ्यो । अहिलेका भन्दा पहिलेका व्यक्तिहरुले धर्मकर्म धेरै मान्ने भएकाले ढुंगेधारा, वरपीपल, चौतारा, मठमन्दिर सुरक्षित थियो । पाटीपौवा जताततै हुँदा टाढाटाढाका मानिसहरुलाई पनि पैसा तिरेर अहिलेको जस्तो होटलको बास माग्न पुग्नुपर्दैनथ्यो ।
हाम्रा पुर्खाहरुले सधैँ अरुको भलो गर्न सिकाए । धर्मकर्ममा समेत उनीहरुले आफ्नो भावी पुस्तालाई अघि सार्न खोज्दथे । पहिलेका मानिसहरुलाई सम्पत्ति त चाहिन्थ्यो तर अरुको यत्तिको छ भनेर डाइ उनीहरुमा थिएन । धर्मप्रति विश्वास र भववान्प्रति सक्दो आस्था राख्थे उनीहरु । खाना खाँदासमेत उनीहरु भगवान्लाई सम्झिन्थे, किनकि अन्न भगवान्को उपादान हो ।

अन्न कमाउनको लागि कति दुःख र मेहिनेत गर्नुपर्छ भन्ने कुरा हाम्रो पुर्खाले बुझेको थिए । आधा पेटमा रमाउने हाम्रो बाउबाजेले कहिल्यै अरुको देखासिकी गरेनन् । जीवजन्तुलाई समेत उनीहरु भोकै भएको देख्न सक्दैनथे । यस्ता पुर्खाका भावी पुस्ता हामी देखासिकीमा अडेका छौं । पहिलेको सरकारले समेत पाटीपौवा बनाउनमा चासो देखाउँथ्यो । धर्म त हो भन्दै पाटीपौवा बनाउनमा सबैले चासो देखाउँथे । सार्वजनिक कामकाजमा उनीहरुलाई निकै चासो हुन्थ्यो । धर्मलाई आफूभन्दा माथि राख्नेहरुको भावी पुस्ताले अहिले धर्मलाई संकटमा पारिदिएका छन् ।

देखासिकीमा टिकेको हाम्रो समाजले शीर्ष नेताहरुकै कारण काजक्रिया गर्ने कार्य संकटमा पर्यो । माधवकुमार नेपाल, पुष्पकमल दाहाल र बाबुराम भट्टराईले आफ्नो जन्म दिने बाबुआमाको काजक्रिया गरेनन् । जसले गर्दा हामीमा काजक्रिया गर्दा के नै हुने रहेछ भन्ने सन्देश पर्यो ।

त्यसैले अहिले अधिकांशले काजक्रिया र धर्मकर्म गर्न छोडिसकेका छन् । अहिले जन्मेका बालबालिकालाई आफ्नो बाबुआमा बोझजस्तै लाग्छ । आफ्ना बाबुआमालाई माया गर्नुपर्छ, भनेको बेलामा खान दिनुपर्छ, उपचार गर्नुपर्छ, मीठो बोलीवचन गर्नुपर्छ भन्ने ज्ञान छैन । दुःख–सुख गरेर आफूले नखाई पढाएका छोराछोरीले बाबुआमालाई मान्छेमा गन्दैनन् । सरकारी जागिर भएका छोराछोरीले आफ्ना बाबुआमालाई आश्रममा लगेर छोडिदिन्छन् । करोडौंको सम्पत्ति भए पनि आफ्ना बाबुआमा नहेर्ने त्यो मान्छे होइन । अधिकांश वृद्धाश्रममा करोडौंका सम्पत्ति भएका छोराछोरीका आमाबुबा बास बसिरहेका छन् ।

खोक्रो भाषणमा टिकेको हाम्रो देशमा यस्ता नेताहरुको सिको गर्दा पनि बूढाबूढीले साह्रो दुःख पाए । आफ्नो जन्म दिने बाबुआमाको माया नगर्नेहरुका लागि देश र जनता के प्यारा होलान् ? बाबुआमाको क्रिया नगर्नेहरुले देश र जनताको लागि के गर्लान् ? ६० वर्ष कटिसकेका बूढाबूढीलाई छोराछोरीहरुले आश्रममा लगेर राखिदिने हो कि भन्ने चिन्ता छ ।

मरेपछि पनि यिनीहरुले हाम्रो काजकिरिया नगर्ने हो कि भनेर बूढाबूढी पिरोलिरहेका छन् । नेपाल सरकारले ७० वर्ष कटेकालाई ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरेको छ । तर, छोराछोरीको व्यवहार र चिन्ताको कारण ६० वर्ष पुग्दा नपुग्दा प्राण गइसक्छ । ७० वर्षमा दिने भत्ताको उमेर घटाएर ५० वर्षपछि दिने व्यवस्था गर्यो भने भत्ताकै आडमा उनीहरु बाँच्न सक्छन् ।

भत्ता लिनको लागि पनि ७० वर्ष नाघ्नुपर्ने ? यो ऐन कानुन परिवर्तन गर्नुपर्छ । जन्मेको मितिले ५० वर्ष पुगेपछि भत्ता दिनुपर्छ । तर महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय यो ऐन संशोधन गर्न मन्त्री परिषद्मा लग्दैन । यो ऐन परिवर्तन गर्न निकै जरुरी रहेको छ ।

आर्थिक कमजोर भएका, बिरामीहरुलाई अहिले पनि बाँच्न धौ–धौ छ । त्यसको लागि ५० वर्ष कुर्नुपर्दैन । आफ्नो उब्जनी गर्न जग्गा छैन । आम्दानीको स्रोत छैन, जसको कारण उनीहरुलाई एक पेट खान धौ–धौ छ । आफ्नो शरीरमा एकजोर कपडा हाल्न उनीहरुलाई मुस्किल छ । भूपू प्रधानमन्त्री, प्रधानमन्त्री, सरकारी कर्मचारी, राजनीतिक दलका नेताहरुले उपचार गर्ने नाममा जनताले तिरेका कर करौडौं रुपियाँ लिइरहेका छन् । तर नेपाली जनता उपचार नपाएर छट्पटिरहेका छन् । बालबालिकाले समेत उपचार नपाएर बाटोमा मागिरहेका छन् । दीर्घकालीन रोगी, मिर्गौला फेल भएका, क्यान्सर भएकालाई सरकाले निःशुल्क उपचार गर्ने घोषणा गरेको छैन । आखिरी यिनीहरु नेपाली जनता हुन् । संविधानमा यिनीहरुको बाँच्ने अधिकार लेखेको छ । राजनीतिक दलहरुका नेताको उपचारमा करौडौँ खर्च गर्ने हाम्रो सरकारले गरिबहरुको लागि किन केही गर्दैन ?

केपी ओली, झलनाथ खनाल र अन्य पार्टीका नेताहरुले उपचार गर्ने नाममा जनताले तिरेका करबाट करोडौं रकम लिए । नेपालमा उपचार सम्भव छैन भन्दै विदेशमा गएर उपचार गरे । तर एउटा सरकारी अस्पतालमा उपचार गर्न नसकेर नेपाली जनता मरिरहेका छन् । जनताको नाम बेचेर रोपनीमा घर बनाएका छन् । अर्बौंका मालिक यिनीहरुको उपचारको लागि सरकारी ढुकुटी खर्च गर्नुपर्ने ? यो त सरकारले जनतामाथि गरेको अपहेलना होइन ? नेपाली जनतालाई हतियार बनाएर करोडौंको सम्पत्ति जोडे । आफू सत्तामा पुगे, भ्रष्टाचार गरे । तैपनि यिनीहरुको सम्पत्ति कसैले खोतलेनन् ।

ज्येष्ठ नागरिकहरुलाई आफ्नो दुःख बिसाउने ठाउँको समेत अभाव छ । तर सरकारले कहिल्यै यसको विषयमा अध्ययन गरेको छ ? वृद्धवृद्धालाई घाम ताप्ने ठाउँको समेत अभाव छ । वडा, गाउँपालिका र महानगरपालिकाले गुठी, सार्वजनिक जग्गाहरु नखोज्दा सबै अतिक्रमण भयो । सरकारी जग्गा सबै व्यक्तिको नाममा गइसकेका छ तापनि वडाध्यक्ष, मेयरहरुलाई चासो छैन । यस्ता जग्गाहरु खोतलेर वडाध्यक्ष, मेयरहरुले पाटीपौवा, ढुंगेधारा, चौतारा बनाइदिने हो भने बूढाबूढीलाई थकाइ मार्ने ठाउँ हुन्छ । बूढाबूढीलाई मात्र नभई बाटो हिँड्ने बटुवालाई समेत यसले निकै सहजता हुन्छ ।

कतै जाऊँ भने जाने ठाउँ छैन । दुःख–सुख बिसाउने चोतारा सबै मासिसकेका छन् । पानी खानुपर्यो भने महँगो पैसा हालेर मिनरल वाटर किन्नुपर्ने बाध्यता छ । सार्वजनिक शौचालयको अभाव छ । बटुवालाई समेत थकाइ मार्ने पाटीपौवा छैनन् । उपत्यकाभित्र जहाँतहीँ घरैघर छन् । घाम ताप्ने ठाउँ कहीँ पनि छैन । सवारीको चाप उत्तिकै छ । यता, फुटपाथमा समेत पसलै पसल छ । घरबाट बाहिर निस्केर जाने कहाँ ? बूढाबूढीलाई कोठाभित्र बसिरहँदा बाथको रोग देखिन्छ । घरभित्रै बसिरहँदा मानिसहरुमा एकोहोरोपन देखिन्छ । त्यसैले पनि सरकारले पाटीपौवा, चौतारा र ढुंगेधारा बनाउनमा चासो देखाउनुपर्छ ।

ज्येष्ठ नागरिक, बालबच्चाको लागि बस्नलाई पाटीपौवा, चौतारा कहिले बनाउने सरकार ? सार्वजनिक शौचालयको व्यवस्था कहिले गर्ने सरकार ? काठमाडौंको कुरा गर्दा कोटेश्वरमा शौचालय जानुपर्यो भने रत्नपार्क पुग्नुपर्ने बाध्यता कहिले हट्छ सरकार ? कमिसन खाएर सरकारी जग्गा र गुठीका जग्गा व्यक्तिको नाममा पुर्याउने वडाध्यक्ष र मेयरलाई कहिले कारबाही गर्ने सरकार ? यो बेथितिको सुधार कहिले होला ?
बेनाम, काठमाडौं

प्रतिक्रिया दिनुहोस्