पत्रकारिता यात्रामा पाठक प्रतिक्रिया



  • चिरञ्जीवी मास्के

सत्य युगमा भगवान् प्रकट भएका कथा निकै पढेका हौँ । पार्वतीले महादेवको आराधना गर्दा डमरु र त्रिशूलसहित गलामा सर्पको माला बेरेर महादेव टुप्लुक्क प्रकट भएको स्वस्थानी व्रत कथा हरेक वर्ष माघ महिनामा वाचन गर्ने दायित्व मेरै हुने गरेको छ । तर आराधना गरेको हैन, विगतको संस्मरण मनमनै बुन्दै गर्दा टुप्लुक्क प्रकट भए रत्ननिधि रेग्मी । रेग्मी उनै पात्र हुन्, जसलाई मैले मेरो पत्रकारिताको यात्रामा ऊर्जा प्रदायक ठान्दछु ।

पत्रकारिताको गौरव, लेखनले ठूला–ठूला परिवर्तन सम्भव छ । यस्तै कुतकुतीले आफू पनि पत्रकार बन्ने अभिलासासहित समाचारको कखरा कोर्दै गर्दा विभिन्न पत्रपत्रिकाको पाठक मञ्च मेरो लेखनको पाठशाला थियो । समाचार लेखनसँगै विभिन्न पत्रपत्रिकामा पाठक प्रतिक्रिया कोर्नसमेत रुचि राख्दथेँ । यसै क्रममा २०४९ साल असार २६ गते साहित्यकार रत्ननिधि रेग्मीले ‘नेपालीपत्र साप्ताहिक’ पत्रिकामा चरिकोटको बारेमा एउटा लेख छपाएका थिए । उनको लेखमा चित्त नबुझेर मैले २०४९ साल श्रावण २ गतेको नेपालीपत्रमा टिप्पणी गर्दै पाठक प्रतिक्रिया लेखेँ । यो क्रम उक्त साप्ताहिकको केही अङ्कसम्मै जारी रह्यो ।

यही २०७८ पुसको पहिलो हप्ता उनै रेग्मीलाई सम्झिएर आफ्नो पत्रकारिता यात्राको विगत अनुभूत गरिरहेको थिएँ । संयोग, उनैले फोन गरेर चरिकोटमा भेट्ने प्रस्ताव गर्दा त्यो प्रकटीकरण मेरो लागि अप्रत्याशित तर उत्साहित र अपेक्षितझैँ लाग्यो । पत्रिकामा दोहोरी खेलेको झन्डै ३० वर्षपछि उनीसँग भौतिक रुपमै चरिकोटको बेकरी रेस्टुरेन्टमा एक कप चियासँगै विगत भुतभुताउँदा साँच्चै सुखानुभूति गरेको छु ।

म मेरो पत्रकारिताको शुरुवाती पाइलाको पदचाप र पृष्ठभूमिलाई अक्षरहरुसँग खार्दै थिएँ । खार्ने साधन पाठक प्रतिक्रिया, साहित्यिक लेखन, पत्रमित्र यस्तै–यस्तै थियो । नौनी खार्ने क्रममा आगोका लप्काहरुले तताउँदै गर्दा आउने सुगन्ध र बिलाउनीजस्तै पत्रकारिताको यात्रामा धेरै पात्र र प्रवृत्तिहरुसँग मेरो सुखद संस्मरण जोडिएका छन् । जसमध्येका सिलु नायिका नविना श्रेष्ठ र रत्ननिधि रेग्मी पनि हुन् ।

२०४४ साल चैत्रको कुरा हो । म एसएलसी परीक्षा दिएर नतिजाको प्रतीक्षामा थिएँ । २०४२ सालबाट प्रकाशित फिल्मी म्यागेजिन कामनाको वर्ष ४, अङ्क ४ को नियमित स्तम्भ ‘जसको उत्तर, उसकै हस्ताक्षर’ को लागि नायिका नविना श्रेष्ठलाई मैले ‘तपाईंमा केटाकेटीपन अफै गएको छैन भन्छन् नि !’ भन्ने सवाल पठाएको थिएँ । जसको जवाफ नायिका श्रेष्ठले आफ्नै हस्ताक्षरमा ‘म कान्छी छोरी, त्यस्तो हुन पनि सक्छ’ भनेर दिएकी थिइन् ।

नायिका नविना श्रेष्ठलाई सोधेको सवाल र कामना पत्रिकामार्फत मैले पाएको त्यो जवाफ नै पत्रकारिता क्षेत्रमा मेरो आबद्धताको पहिलो खुड्किला थियो । शायद त्यति बेला मेरो सवालको जवाफ नआएको भए या मैले सवाल नै नपठाएको भए पत्रकारितामा मेरो पाइला अगाडि बढ्दैनथ्यो कि ! अहिले धेरै पत्रकार पाठक प्रतिक्रिया लेख्ने कुरालाई आफ्नो प्रतिष्ठासँग जोड्ने गर्छन् । पत्रकारले पाठक प्रतिक्रिया लेख्न हुँदैन भन्ने ठान्छन् । तर मेरो पत्रकारिताको श्रीवृद्धिमा भने पाठक प्रतिक्रियाको सिलसिलाले निखार ल्याएको ठान्दछु ।

‘कामना’ फिल्मी म्यागेजिन, ‘नेपालीपत्र’ साप्ताहिक, ‘गोरखापत्र’ दैनिक, ‘जनमञ्च’ साप्ताहिक लगायतका पत्रपत्रिकाहरुमा पाठक प्रतिक्रिया लेख्दै गर्दा २०४८ सालमा त्रिचन्द्र श्रेष्ठ प्रतीक्षाको ‘मुक्ति मासिक’मा ‘दंग र जंग’ शीर्षकमा व्यङ्ग्य छापियो । र, २०४८ सालमै मुक्ति मासिकको चरिकोट प्रतिनिधिको रुपमा पत्रकारिता शुरु गरेँ । मेरो पत्रकारिताको यात्रामा धेरै उबडखाबड छन्– पाठक प्रतिक्रिया, प्रतिनिधि, सम्पादक अनि रिर्पोटर ।

मेरो पत्रकारिताको अविचलित यात्राको अभिभावक कामना प्रकाशन समूहका संस्थापक स्वर्गीय पुष्करलाल श्रेष्ठ, राजनीतिज्ञ गिरिराजमणि पोखरेल र मुक्ति मासिकका सम्पादक त्रिचन्द्र श्रेष्ठ प्रतीक्षा हुन् । लेखनको निश्चित विन्दुहरुमा उहाँहरुको प्रेरणा, उत्साह र हौसला सारथी बनेको थियो ।

‘अर्को जन्म’ र ‘देवता’ उपन्यासका लेखक प्रकाश कोविद, ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ का लेखक पिटर जे कार्थर, ‘बसाइँ’का लेखक इन्द्रबहादुर राईजस्ता लेखकहरु पनि मेरो पत्रकारिता यात्राको अभिभावकहरु हुन् । जसलाई पढ्दै र अनुभूत गर्दै मैले मेरो लेखनलाई निखारेँ भन्छु । साहित्यमा पढेका तिनै शब्दहरुले मलाई समाचार लेखनमा चुस्तता र वाक्य निर्माणमा सहजता भएको हो । साहित्य र पत्रकारिताबीच कति घनिभूत मित्रता छ । कहिलेकाहीँ म स्वच्छु, साहित्य नभए त पत्रकारिता सूचना मात्र हुने थियो होला । शब्दको मेल सूचनाले मात्र कहाँ सम्भव छ र, साहित्य पनि त चाहियो । मलाई थाहा छ, तिनै उपन्यास र लेखकको मनोभाव पढेर म कहिले टिस्टा रङ्गिन पुगेको छु, कहिले मिरिक र घुम्न पुगेको छु । ज्याकाराण्डाको सुन्दरता र हसनाको सुगन्धले मेरो लेखनीलाई सत्य बनाएको छ ।

पत्रकार महासंघका पूर्वअध्यक्ष धमेन्द्र झाले कुनै प्रसंगमा भनेका थिए– नेपालमा धेरैले पत्रकारिताको शुरुवात सम्पादकबाट गरेका छन् । हो त, मेरो पत्रकारिताको यात्रा पनि सम्पादकबाटै त शुरु भयो । पाठक प्रतिक्रिया र साहित्य लेखनबाट शुरु भएको मेरो यात्रा २०४९ सालमा अरुणिमा त्रैमासिकको सम्पादक भएर अघि बढ्यो । अहिले म सम्पादक पनि छु, रिपोर्टर पनि छु र लेखक पनि ।

प्रविधिको हिसाबले र शैक्षिक तहको हिसाबले अहिलेको पत्रकारिता उत्कृष्ट छ । हामीले हस्तलेखनबाट शुरु गरेको पत्रकारिता अहिले कम्प्युटर टाइपिङ हुँदै अघि बढेको छ । हामी परेर पत्रकार भयौँ, अहिले पढेर पत्रकार बन्नेको संख्या अधिक छ । तर शिल्पी, सजग र सक्रिय लेखनसहितको पत्रकार भने कमै भेटिने गरेको छ अहिले ।

विडम्बना के भने, रेडियोमा बोल्यो कि पत्रकार, केही थान समाचार छापियो कि पत्रकार । अब त पत्रकारहरुबीच सहकार्य पनि छैन, इस्युहरुमा सल्लाह पनि छैन र सामूहिकता पनि छैन ।

२०५२ सालतिरको एउटा सम्झना छ । मेरा हरेक लेखन र संस्मरणहरुमा त्यो पलले सधैँ चिमोट्ने गर्छ । त्यो वर्ष (महिना र गते भने सम्झना गर्न सकिन) अविरल वर्षापछिको पहिरोले दोलखाको सुनखानीमा धेरै धनजनको क्षति भएको थियो । हामी केही पत्रकार स्थलगत सुनखानी पुगेका थियौँ । हातले लेखेर फ्याक्समार्फत समाचार पठाउनुपर्ने त्यो समय । स्थलगत सुनखानी पुगेर सदरमुकाम चरिकोट फर्कंदा यता बिजुली र टेलिफोन दुवै बिग्रिएको । भोलिपल्टको पत्रिकामा समाचार त जसरी नि छपाउनै पर्ने थियो तर कसरी ? समाधान थिएन । तत्कालीन जिल्ला विकास समितिका सभापति रुद्रबहादुर खड्काले एउटा उपाय सुझाए । त्यति बेला खरिढुङ्गामा ओरिएन्ट म्याग्नेसाइट सञ्चालनमा थियो । त्यहाँ बिजुली र टेलिफोन दुवै चलेको रहेछ । सभापति रुद्रबहादुर खड्काले जिल्ला विकास समितिको गाडी दिए खरिढुङ्गासम्म जान ।

सबै पत्रिकाको फ्याक्स नम्बर लिएर म खरढिुङ्गा गएँ समाचार पठाउन । अनि एउटा तयारी समाचारमा टिपेक्स लगाउँदै सबै पत्रिकामा पालैपालो फ्याक्स गरिदिएँ । भोलिपल्ट ती पत्रिकामा प्राथमिकताका साथ पहिरोका कारण जनधनको क्षतिको समाचार छापिएको देख्दा हामी सबै पत्रकारहरु खुशी र उत्साहित भयौँ । त्यो सामूहिकताको उदाहरण थियो ।

समाचारको लेखाइ हरेक पत्रकारको फरक–फरक हुनुपर्छ, यही हो आम मान्यता तर त्यति बेलाको परिस्थिति र घटनाको प्राथमिकताले पत्रकारहरुको सामूहिकता खोजेको थियो । र, हामीले त्यो दायित्व पुरा गर्यौँ । त्यो बेलाको लेखाइ र विषवस्तुको छनोट पनि कम थिएन । हामी थोरै पत्रकार थियौँ, हरेक विषयमा कलम चलाउँथ्यौँ । न राजनीतिक आग्रह–पूर्वाग्रह, न लेखनीमा कुनै खोट । सबैको हाई–हाई ! त्यति बेलाका पत्रकार साथीहरुमध्येका राजेन्द्र, भोजराज, शम्भुहरु अहिले अन्य पेसामा बढी सक्रिय छन् । फेरि पनि उनीहरुको लेखनी समुद्रजस्तै कतै उर्लंदो छाल, कतै शान्त नीलो पानी ।

म अहिले मेरो पत्रकारिता यात्राको संस्मरण लेखिरहेको छु । निर्धक्क भन्न सक्छु, मेरो यो लेखनी यात्रा पाठक प्रतिक्रिया, साहित्य र सहकार्यबाट शुरु भएको हो । ३० वर्षको यो यात्रामा मेरो लेखनी जसरी अगाडि बढेको छ, जीवनको अन्तिम पलसम्म त्यसरी नै अगाडि बढ्छ भन्ने विश्वास छ । किनभने मसँग अहिले पनि पाठक प्रतिक्रियाको तागत, व्यङ्ग्य लेखनको सीप र सामूहिकताको संस्कार छ ।

म सत्य लेख्न चाहन्छु त्यति बेला पनि, जति बेला मेरा हात बुढ्यौलीले कलम समाउनसमेत असहज मानिरहेको हुनेछ । सत्य पढ्न चाहन्छु त्यतिबेला पनि, जति बेला उमेरका कारण मेरा आँखाहरु तिर्मिराउन थालिसकेका हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्