म्युजिक भिडियो निर्देशन अझ क्रियटिभ काम हो : आदित्य बुढाथोकी



ललितपुरको गोदावरीस्थित विशंखुनारायण वडा नं ९ मा जन्मी, काभ्रेमा हुर्केर हाल पेप्सीकोला बस्दै आएका ३८ वर्ष आदित्य बुढाथोकी कला क्षेत्रमा प्रवेश गरेका थिए कलाकारका रूपमा। तर, अहिले उनी छाएका छन् सफल म्युजिक भिडियो निर्देशकका रूपमा। अभिनय विधाबाट कलाक्षेत्रको करियर शुरु गरेका बुढाथोकीले थोरै भए पुगी सरी, तिमी तिमी पुरुष, आन्दोलनलगायत आधा दर्जन टेलिसिरियल, हे युवा, तिमी मेरो म तिम्रो, नेपथ्यजस्ता फिल्ममा अभिनय गरे। १७ वर्षअघि २०६१ सालबाट म्युजिक भिडियो निर्देशन यात्रा शुरू गरेका उनले त्यसयता पछाडि फर्केर हेर्नुपरेको छैन। नबोले नि हाँसिदेऊ न, सम्झनाको पानामा लेख, झरी, पूर्णिमाको रात मेरो, कान्छीको, बिसौनीमा साथीको रुमाल, माया गर्ने मान्छेको, ढुंगामुढा, ए सानु, फुर्के जुंगालगायत डेढ सय जति म्युजिक भिडियो निर्देशन गरिसकेका उनी यो क्षेत्रमा सार्थक र उत्कृष्ट निर्देशन गर्ने म्युजिक भिडियो निर्देशकका रूपमा स्थापित छन्। हरेकजसो म्युजिक भिडियोलाई कथानक शैलीले प्रस्तुत गर्ने विशेषता बोकेका बुढाथोकीले समय कथा, उनकी छोरी तरुनी हामीलाई के को दोष?, कल अफ ड्युटीजस्ता टेलिफिल्मसमेत निर्देशन गरेका छन्। म्युजिक भिडियो निर्देशन क्षेत्रबाटै उनले मलेसियामा भएको तेस्रो नेपाल टेलिकम नेपाली म्युजिक भिडियो अवार्ड २०१८ तथा नेपालमा भएका सगरमाथा म्युजिक अवार्ड २०१८, स्पर्स म्युजिक भिडियो अवार्ड २०२०, द हिमालयन इन्टरनेसनल अवार्ड २०२१, नाट्येश्वरी कला सम्मान २०७५, बक्स अफिस म्युजिक भिडियो सम्मान २०७५, नेपाल आमा रत्न सम्मान २०७५ जस्ता अवार्ड र सम्मान चुम्दै आएका छन्। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

हाल के गर्दै हुनुहुन्छ?
अहिले नयाँ र पुराना गायक गायिकाको गीतहरूमाथि म्युजिक भिडियो बनाउने काम आइरहेको छ, म्युजिक भिडियोकै काम गरिरहेको छु। हप्तामा केही नभए पनि दुई म्युजिक भिडियो निर्देशन गरिरहेको छु। नभए तीनदेखि चारवटा म्युजिक भिडियो गरिरहेको हुन्छु। यो हप्ता चारवटा म्युजिक भिडियो बनाउनुपर्ने अवस्था छ। फिल्म निर्देशनको तयारी पनि गरिरहेको छु। त्यसका लागि स्क्रिप्टको काम गरिरहेको छु। स्क्रिप्ट फाइनल भएपछि कलाकार र प्राविधिक चयनको कामलाई अगाडि बढाउने योजना छ।

अभिनयमा आएको मान्छे कसरी निर्देशन क्षेत्रमा लाग्नुभयो?
मैले कलायात्राको शुरुवात अभिनयबाट गरेँ। तर, अभिनय गर्न आए पनि भित्री मनदेखि निर्देशन गर्ने सोच थियो। म जहिले पनि क्रियटिभ काम गर्न चाहन्थेँ। अभिनय पनि क्रियटिभ काम हो। तर, अभिनय गर्नु भनेको अरूको क्रियसनमा काम गर्नु हो। निर्देशनचाहिँ आफ्नै क्रियसन देखाउने ठाउँ हो। त्यसैले, निर्देशन विधाप्रति धेरै आकर्षित भएँ। जसका कारण अभिनयबाट केही ज्ञान लिएर त्यसकै आधारमा निर्देशन क्षेत्र रोजेँ। मेरो क्रिएसन र कामलाई मन पराएको देख्दा सही समयमा सही डिसिजन गरेछु भन्ने लाग्छ।

अभिनय गर्न सजिलो कि निर्देशन?
दुवै पाटो एक–अर्कामा फरक भए पनि गाह्रो छ। अभिनय अरुको निर्देशनबमोजिम गर्ने हो। आफैँले निर्देशन गर्न झन् गाह्रो छ। निर्देशन गर्नका लागि धेरै कुरा सोच्नुपर्छ। कन्टेनदेखि पे्रजेन्टेसनसम्मको कुरा हुन्छ।

म्युजिक भिडियो निर्देशकले त हिजोआज मालामाल कमाउँछ रे त?
राम्रो काम गर्ने, मेहनत गर्ने र क्रियसन गर्ने थोरै म्युजिक भिडियो निर्देशकले मात्र कमाउँछन्। म्युजिक भिडियो निर्देशन गर्ने मात्र भनेर हुँदैन। त्यसमा क्वालिटी दिन सक्नुपर्छ। म यस मानेमा आफूलाई भाग्यमानी निर्देशक ठान्छु कि मेरो काम मन पराइदिनुभएको छ, स्तरीय मानिदिनुभएको छ र कमाइ पनि भएको छ। म्युजिक भिडियो निर्देशकको यो भिडमा म पनि म्युजिक भिडियो निर्देशन गरेर सर्भाइभ भइरहेको छु। कमाइबाट सन्तुष्ट छु।

म्युजिक भिडियोप्रतिको आकर्षण किन यति धेरै बढेको होला?
म्युजिक भिडियोमा युवा वर्गको क्रेज बढेको छ। गीत संगीतको मार्केटिङले पनि बजार लिइरहेको छ। युट्युबदेखि लिएर टिकटकसम्म र डिजिटल प्लेटफर्ममा पनि कमर्सियल हिसाबले राम्रो भएको छ। नेपाली गीत संगीतको क्रेज बढिरहको छ। गीत संगीत जति बढेको छ, त्यही हिसाबले म्युजिक भिडियो निर्माणको दर पनि एकदमै बढिरहेको छ। गीत संगीत र म्युजिक भिडियो यो गतिमा निर्माण हुनुमा यसमा बढ्दै गएको आकर्षण र नयाँपन पनि कारण हो।

म्युजिक भिडियोमा फिल्मका चलेका कलाकारलाई राख्नुको कारण के हो?
फिल्मबाट चिनिएका कलाकारको पहिले नै ठूलो जमातको दर्शक बनिसकेका हुन्छन्। उनीहरूलाई लिनेबित्तिकै गीतको प्रमोसन गर्न सजिलो हुन्छ। चलेका कलाकारलाई लि“दा भिवर्सका र पब्लिसिटीको हिसाबले सजिलो पर्न जान्छ। त्यस हिसाबले पनि फिल्मका चलेका कलाकारको माग म्युजिक भिडियोमा बढेको हो।

फिल्मका कलाकारलाई म्युजिक भिडियोमा काम गराउन सजिलो कि मोडलहरूलाई?
सजिलो त मोडलहरू पनि सजिलो छन्, कलाकार पनि सजिलो छन्। कलाकार र मोडल दुवैले आ–आफ्नो ठाउँबाट ड्युटी निभाइरहेका हुन्छन्। कामको हिसाबले त्यस्तो फरक पर्दैन। बरु नयाँ मोडललाई लिएर काम गर्दाचाहिँ अलि बढी मेहनत गर्नुपर्छ। चलेको मोडललाई लिनु र चलेको कलाकारलाई लिनुचाहिँ उस्तै हो।

कोरोना कालमा म्युजिक भिडियोको बाढी जसरी आयो, कोरोना सकिएपछि त्यसैगरी यो क्षेत्र पनि सुकेर जाला कि?
होइन, म त त्यस्तो हुने देख्दिनँ। बरु यो रेसियो अझैँ बढ्दै जान्छ। किनभने कोरोना महामारीका बेला बरु फिल्म बन्न सकेन। तर, म्युजिक भिडियो निरन्तर बनी नै रह्यो। त्यसैले, कोरोना काल सकिएपछि म्युजिक भिडियो क्षेत्रले त्योभन्दा अझ राम्रो पिकअप लिन्छ। यसको भविष्य अहिलेभन्दा पनि सुमधर हुने मैले देखेको छु।

म्युजिक भिडियोमा लगानी गरेर निर्मातालाई फाइदा हुन्छ या विना मुनाफाको लगानी हो यो?
म्युजिक भिडियो निर्माणको क्षेत्रमा व्यावसायिकरूपमा आउनेलाई फाइदा छ। उनीहरू म्युजिक भिडियो कसरी बनाउने, कुन प्रकारको बनाउने, मार्केटिङ कसरी गर्ने भनेर पहिले नै प्लान गरेर आएका हुन्छन्। त्यसरी आउने म्युजिक भिडियो निर्मातालाई फाइदा भएका थुप्रै उदाहरण छन्। म्युजिक भिडियो र गीत संगीत निर्माणमा वृद्धि हुनेको कारण पनि यही हो।

तर, केही पनि प्लानिङ नै नगरी, केवल सौख पूरा गर्न आउने म्युजिक भिडियो निर्मातालाई भने फाइदा नहुन सक्छ। किनभने उनीहरूलाई कुन डिजिटल प्लेटफर्मबाट के कसरी पैसा आउँछ, आफ्नो लगानी कसरी रिटर्न हुन्छ भन्ने थाहा नहुन सक्छ।

एउटा कुशल म्युजिक भिडियो निर्देशकले ठूलो पर्दाको फिल्म निर्देशन गर्न सक्छ कि सक्दैन?
एकदमै सक्छ। किनभने निर्देशन गर्नु आफैँमा क्रियटिभ काम हो। म्युजिक भिडियो निर्देशन त अझैँ क्रियटिभ काम हो। दुई घण्टा लामो फिल्मले कभर गर्ने स्टोरी हामीले पाँच मिनेटको म्युजिक भिडियोमा प्रेजेन्ट गरेका हुन्छौँ। थोरै समयमा धेरै विषय समेटिएको हुन्छ, सिंगो कथा प्रस्तुत गरेका हुन्छौँ। तर, सबैले बनाउने म्युजिक भिडियो यही प्रकारको हुन्छ भन्नेचाहिँ छैन। मचाहिँ क्रियसनमा विश्वास गर्ने भएकाले जतिसक्दो एउटै गीतबाट उत्कृष्ट कथा पस्किने प्रयास गरिरहेको हुन्छु। फिल्म निर्देशनका लागि तयारी पनि गरिरहको छु। अहिले स्क्रिप्टको काम भइरहको छ।

म्युजिक भिडियो निर्देशन क्षेत्रका चुनौती के–के हुन्?
कुनै कुनै म्युजिक भिडियो केही कारणले एक दिनमै सक्नुपर्ने हुन्छ। चलेका कलाकारको समय अभाव हुन्छ। यसो हुँदा राम्रा गीत पनि छायाँमा पर्न सक्छ। यसका बाबजुद गतिलो र उत्कृष्ट भिडियो बनाउने कार्य बडो चुनौतीपूर्ण हुन्छ। जसलाई मैलै वर्षौंदेखि अंगिकार गर्दै आएको छु। मैले गरेका कतिपय भिडियो विभिन्न कारणले एकै दिनमा सुटिङ सकेर एक हप्ताभित्रै रिलिज गर्नु पनि परेको छ। त्यो कुरा मलाई र मेरो टिमलाई थाहा हुन्छ। तर, कामको हिसाबले तपाईं कतै कम्प्रोमाइमज भएको पाउनुहुन्न। म लामो समयदेखि यही क्षेत्रमा सक्रिय भएर लागेको छु। धेरै आरोह अवरोहपछि ठूलो संघर्ष गरेर यहाँसम्म आइपुगेको छु। त्यसैले, राम्रो राम्रो गीतको म्युजिक भिडियो बनाउने काम गर्ने अवसर पनि मिलिरहेको छ। निर्देशनमार्फत नेपाली गीत संगीतलाई चिनाउने अवसर पाएको छु।

सार्थक म्युजिक भिडियो निर्माणका लागि के–के कुराको जरुरत पर्छ?
सबैभन्दा पहिला गीतको कम्पोजिसन राम्रो हुनुपर्यो। त्यसपछि स्टोरी डेभलप गरी स्क्रिप्टिङ राम्रो गर्न सक्नुपर्यो। यस सँगसँगै त्यो भिडियोका लागि स्टोरीले डिमान्ड गरेको कलाकार, लोकेसन, टेक्निकल पार्ट राम्रो भयो भने मात्र समग्रमा राम्रो गीत बन्न सक्छ।

तपाईंले निर्देशन गर्ने म्युजिक भिडियोका विशेषता के हुन्?
म विशेषगरी कट टु कट भन्दा पनि स्टोरी र कन्सेप्टमा काम गर्न रुचाउँछु। मेरो प्रायः म्युजिक भिडियोमा दुई घण्टाको फिल्मले भन्ने स्टोरी हुने गर्छ। जसलाई मन पराइँदै आएको छ।

कुन विधाको म्युजिक भिडियो बनाउन मज्जा लाग्छ?
आधुनिक विधाको गीतको म्युजिक भिडियो बनाउन पाउँदा इन्जोय गर्छु। जसले स्टोरी टेलिङ गर्छ। काम त मैले लोक पप भिडियोको पनि गरेको छु। तर, सन्तुष्टिचाहिँ आधुनिक विधाको गीतबाट मिल्छ।

प्रतिक्रिया दिनुहोस्