पनौतीमा १२ वर्षे मकर मेला शुरू, संक्रमणका बाबजुद भक्तजनको घुँईचो



मोतीराम तिमल्सिना, काभ्रे ।

बाह्रवर्षे तीर्थयात्राका रूपमा लाग्ने पनौतीको मकर मेला कोरोना भाइरसको संक्रमणका बाबजुद निर्धक्क स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत माघ १ गते देखि शुरु भएको छ । सहभागी भक्तजनहरुले अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड नअपनाई मेलामा सहभागी भइरहेका छन् ।

स्थानीय प्रशासनले मेलामा २५ जना भन्दा धेरै सहभागी नहुन आदेश जारी गरेको छ । तर सर्वसाधारणहरू त्यसको परवाह नगरी मेलामा निर्धक्क सहभागी भइरहेका छन् । माघ १ गते देखि २९ गतेसम्म एक महिनासम्म मकर मेला लाग्ने गरेको छ । नेपालमा एक मात्र स्थान उत्तर प्रयागका रूपमा चिनिने पनौतीमा लाग्ने मकर मेलाको धार्मिक विशेषताका कारण देश तथा विदेशबाट समेत भक्तजनहरू मेला भर्न आउने गरेका थिए ।

सत्ययुगमा देवराज इन्द्रले ऋषि गौतमकी पत्नी अहिल्यासँग छल गरेर अनुचित यौनसम्वन्ध कायम गरेपछि गौतम ऋषिको श्रापबाट मुक्त हुन पनौतीमा आएर तपस्या गरेका थिए । उनी पापबाट मुक्त भएका थिए भन्ने लोक आख्यान छ । त्यही किंवदन्तीका आधारमा पनौतीमा हरेक १२ वर्षमा एक महिना त्रिवेणी धाममा मेला लाग्दै आएको छ ।

त्रिवेणी धाममा आई स्नान गर्दा आफूले जीवनमा गरेका हरेक पापबाट मुक्त भइन्छ भन्ने विश्वास जनमानसमा रहेको इतिहासका जानकार सूर्यप्रसाद लाकोजुले बताउनु भयो । महाभारतका प्रमुख पात्रहरू पाँच पाण्डवकी पत्नी द्रौपदीको मन्दिर पनौतीमा रहेको छ ।

प्राचीन समयमा इन्द्र, महादेव, विष्णु, अहिल्या, शची, पार्वती, गोरखनाथ, पाण्डव आदी देवीदेवता र महापुरुषहरू पनौतीलाई तपोभुमि मानेर पनौतीमा आउने गरेको जनश्रुति रहेको छ । जगद्गुरु शंकराचार्य, बन्धुदत्त, राजा मानदेव, हरिसिंहदेव, नरेन्द्रदेव, पृथ्वीनारायण शाह, बेलायती युवरात्री डायनाजस्ता व्यक्तित्वहरू पनौतीमा आई पनौतीका बारेमा प्रशंसा गरेको ऐतिहासिक दस्ताबेज रहेको लाकोजुले बताउनु भयो ।

मकर मेलामा पद्मावती, लिलावती र गुप्त रूपमा बहने रुद्रावतीको सँगम रहेकाले त्रिवेणीको संगममा स्नान गर्ने चलन छ । स्नान लगत्तै इन्द्रेश्वर महादेवको दर्शन गरी गोरखनाथ डाँडामा गई दर्शन गर्ने गरिन्छ । भक्तजनहरुको घुइँचोका कारण पनौतीबाट कोरोना भाइरसको थप संक्रमण फैलन सक्ने चिन्ता स्थानीयहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्