बडीमालिकाको गौरवको योजना पारित



बाजुरा ।

बडीमालिका नगरपालिकाले नगर विकासका लागि सातवटा आयोजना अघि सारेको छ । नगरसभाबाट पारित निर्णयलाई बडीमालिका नगरपालिकाको सभाहलमा बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिकीकरण गरिएको हो । बुधबार सम्पन्न बडीमालिका नगरपालिकाको १०औं नगरसभाले उक्त आयोजना पास गरेको थियो । ‘समृद्ध नगर खुसी नगरबासी’ भन्ने नारालाई पछ्याउँदै सातवटा गौरवशाली आयोजना पास गरेको नगर प्रमुख पदम बडुवालले बताउनुभयो ।

नगरपालिकाले अघि सारेका गौरवका योजनामा बडीमालिका (कबल्टा) एयरपोर्ट प्रमुख योजनामा छ । जसलाई सदरमुकामकै बहुआयामिक आयोजना भनिएको छ । उक्त आयोजनाको डीपीआर यसै वर्षदेखि तयार गरिने भएको छ । जसका लागि प्रदेश सरकारवाट २० लाख रुपियाँ विनियोजन भइसकेको उहाँले जनाउनुभयो ।

त्यस्तै, बडीमालिकालाई विश्वमा चिनाउने अभिप्रायले बडीमालिका पर्यटन विकास आयोजना र बुढाकोर्धमा फूल चढाउन केवलकार आयोजना सञ्चाल नगरिने भएको छ । बाढी–पहिरोले प्रभावित बूढीगंगा आसपासका जनताको जीविकोपार्जन गर्न नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना पनि नगरसभाले पास गरेको छ । मार्तडीलाई नमुना शहरका रूपमा विकसित गर्न नमुना शहर विकास आयोजना । स्थानीय उत्पादनलाई बढवा दिन बढीमालिका औद्योगिक विकास क्षेत्र परियोजना, सदरमुकमास्थित नगरस्तरीय बृहत् खेलकुद मैदान परियोजना लगायतका जनमुखी आयोजना अघि सरेको नगर उपप्रमुख कविता विष्टले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो ।

त्यसै गरी, बिरेखोला झरना संरक्षण तथा व्यवस्थापन कार्यविधि–२०७८ लगायत चार वटा कार्यविधि, स्थानीय स्वास्थ्य विधेयक–२०७८ लगायत १० वटा नयाँ विधेयक पारित गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्