चार दिनभित्र होल्डिङ सेन्टर निर्माण सक्न निर्देशन



विराटनगर ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले चार दिनभित्र होल्डिङ सेन्टर निर्माण पूरा गर्न निर्देशन दिनुभयो । उहाँले दिनरात काम गरेर भए पनि चार दिनभित्र काम सक्न निर्देशन दिँदै तत्काल एक सय श्यया तयार पार्न पनि आग्रह गर्नुभयो । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसमेतको मन्त्रीको टोलीले बिहीबार विराटनगरको भारतसँग सीमा जोडिएका क्षेत्रहरूको स्थलगत अनुगमन गर्ने क्रममा आन्तरिक मामिला मन्त्री कार्कीले यस्तो निर्देशन दिनुभएको हो । सामाजिक विकास मन्त्री जयराम यादव पनि सम्मिलित उक्त टोलीले सरकारले विराटनगर १६ स्थित सीमा क्षेत्रमा निर्माण गरिरहेको होल्डिङ सेन्टर, जोगवनीबाट रानी प्रवेश गर्ने मूख्य नाका र कोरोना भाइरस नियन्त्रणका लागि सीमा क्षेत्रमा भइरहेको कामको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्ररूपमा बढिरहेको हुँदा प्रदेश १ मा ओमिक्रोनको संक्रमण प्रसार हुनसक्ने सम्भावित नाकाहरूमा निगरानी बढाउन र नियन्त्रणका लागि सबै उपायहरू अवलम्बन गर्न सरकार तत्पर रहेको मुख्यमन्त्री राईले बताउनुभयो । मुख्यमन्त्री राईले खोप अभियानलाई क्रमशः बढाउँदै लैजाने जानकारी दिँदै शुक्रबार सर्वदलीय बैठक बसेर महामारी नियन्त्रणमा सबै मिलेर अघि बढ्ने वातावरण बनाउने बताउनुभयो । सीमा नाकामा संक्रमणको जोखिम बढी हुने भएकाले अनावश्यक आवतजावतलाई रोक्नुपर्ने भन्दै टोलीले सोहीअनुसार निगरानी र नियन्त्रणमा ध्यान दिन सुरक्षाकर्मीहरूलाई निर्देशन पनि दिएको थियो ।

विराटनगरमा सीमा क्षेत्रबाट प्रवेश गर्नेलाई लक्षित गरेर एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेको छ । गत असार ३ गतेबाट निर्माण शुरू भएको होल्डिङ सेन्टर एक महिनाभित्र निर्माण सम्पन्न गर्ने नेपाली सेनाको लक्ष्य थियो । तर, संक्रमण बढ्दै गएकोले होल्डिङ सेन्टर तत्काल निर्माण सम्पन्न गर्न सरकारले निर्देशन दिएको हो । नेपाली सेनाले पानी र बिजुली अभावका कारण होल्डिङ सेन्टर निर्माणमा गतिरोध उत्पन्न भइरहेको जानकारी गराएपछि विराटनगर १६ का वडाध्यक्ष मनोज सुब्बाले पानी र बिजुली तत्काल उपलब्ध गराउन आफू लागिपर्ने बताउनुभयो । सीमा क्षेत्रको अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्य मन्त्रालयका अधिकारीहरू समेत सहभागी हुनुभएको थियो ।

खुल्ला सीमाका कारण भारतबाट भित्रिने सम्भावित संक्रमितहरूको पहिचान गरी उनीहरूलाई राख्न प्रदेश १ को मेचीनगर–१४ दुवागढीस्थित हँडिया खोलाको नदी उकास र विराटनगर–१६ रानीस्थित विराटनगर जुटमिलको खाली जग्गासहित देशभरका सात स्थानमा दुई अर्बको लागतमा निर्माणाधीन रहेका होल्डिङ सेन्टर छिटो सम्पन्न गर्न भने दुवै तहका सरकारको तदारुकता देखिएको छैन । दुवागढी र रानीमा निर्माणाधीन होल्डिङ सेन्टर समयमा निर्माण सम्पन्न नहुँदा कोभिडको तीव्र संक्रमण रोक्ने प्रयास असफल हुने अवस्था बन्दै गएको छ ।

पूर्वी नेपालको प्रमुख नाका रानीबाट दैनिक एक हजार बढी मानिस ओहरदोहर गर्दछन् । तर, कोभिड संक्रमणको तेस्रो लहरअन्तर्गत ओमिक्रोन भेरियन्टको संक्रमण फैलिनबाट सीमा क्षेत्रमा सरकारले सावधानी समेत अपनाउन सकेको छैन । अर्कोतिर मुख्य नाकामा हेल्पडेस्क राखिए पनि खुल्ला सिमानाले मानिसहरूको आउजाउ रोक्न सक्ने र उनीहरूको परीक्षण गर्न सक्ने अवस्था भने बनेको छैन । जोगवनीमा भारतीय रेल आएपछि हेल्प डेक्समा कार्यरत कर्मचारीहरूले प्रहरीको सहयोगमा एन्टिजेन परीक्षण हुने गरे पनि सबैको परीक्षण गर्न पनि कठिनाइ रहेको हेल्प डेक्समा कार्यरत स्वास्थ्यकर्मीहरू बताउँछन् ।

हेल्प डेस्कको तथ्यांकमा पुुस महिना चलिरहँदा अहिलेसम्म एन्टिजेन परीक्षणबाट मात्रै २५ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको पाइएको छ । जसमध्ये १२ जना त भारतीय नै रहेका छन् । रानीमा एक हजार श्यया क्षमताको होल्डिङ सेन्टर निर्माणाधीन रहेको छ । मूल क्वारेन्टाइन ब्लक, किचेन डाइनिङ र शौचालय गरी ५९ वटा ब्लकहरू बनिरहेका छन् । जसमध्ये किचेन डाइनिङ १५ वटा, चर्पी २२ वटा, सीमा नाकाबाट प्रवेश गर्ने नागरिकहरूलाई राख्ने क्वारेन्टाइन ब्लक २० वटा र प्रशासनिक ब्लक दुईवटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्