इन्टरलाई इटालियन सुपर कपको उपाधि



रोम, (एजेन्सी) ।

जारी सिजन २०२१–२२ अन्तर्गत इटालियन सुपर कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । बुधबार राति भएको फाइनल खेलमा इन्टर मिलानले युभेन्टसमाथि अतिरिक्त समयमा गोल गर्दै २–१ गोलअन्तरको जितका साथ उपाधिमा बाजी मारेको हो । यससँगै सिजनको पहिलो उपाधि होडमा युभेन्ट्स निराश बनेको छ ।

गत सिजनको सिरी ए लिगको च्याम्प्यिन टिम र गत सिजनको कोपा इटालियाको च्याम्पियन टिमले खेल्ने सुपर कपको उपाधि भिडन्तमा यसपटक मिलान र युभेन्ट्स भिडेका थिए । गत सिजन सिरी ए लिग इन्टर मिलानले जितेको थियो भने कोपा इटालियन युभेन्ट्सले जितेको थियो ।

सान सिरो रंगशालामा भएको खेलमा मिलानले युभेन्टसमाथि खेलभरि नै दबाबपूर्ण खेल खेलेर च्याम्पियन बन्यो । खेलमा अग्रता पहिला युभेन्ट्सले लिए पनि मिलानले त्यसपछि कमब्याक जित निकालेको हो । युभेन्ट्सका लागि खेलको २५औं मिनेटमा अमेरिकन खेलाडी वेस्टन म्याकेनीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

युभेन्टसले २५औं मिनेटमा पुग्दा एक मात्रै सट प्रहार गरेको थियो र त्यही एक सटमा उसले अन टार्गेट हान्दै गोल पनि गर्न सफल भएको थियो । गोल बेहोरेको सात मिनेटमै मिलानले पेनाल्टी पायो, जहाँ लौटारो मार्टिनेजले गोल गर्दै खेल १–१ गोलको बराबरी बनाए । त्यसपछि दुवै पक्षबाट निर्धारित समयमा गोल हुन सकेन ।

निर्धारित ९० मिनेट र इन्जुरी समयमा समेत हार–जित नभई खेल १–१ को बराबरीमा सकिएपछि खेल ३० मिनेटको थप समयमा धकेलिएको थियो । डीबक्सभित्र युभेन्टसका ब्राजिलियन डिफेन्डर एलेक्स सान्ड्रोले राम्रोसँग बल क्लियर गर्न नसक्दा सान्चेजले त्यसको फाइदा उठाएर गोल गरेपछि युभेन्ट्स स्तब्ध बन्यो ।

प्रतिक्रिया दिनुहोस्