सन्देश र विशालको राष्ट्रिय कीर्तिमान



काठमाडौं ।

राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । सन्देशले सिनियर पुरुष ९६ केजीको स्न्याचतर्फ १ सय ९ केजी भार वहन गर्दै राजविराजमा २०७७ मा भएको राष्ट्रव्यापी भारोत्तोलनमा विशालसिंह विष्टले बनाएको १ सय ८ केजीको कीर्तिमान भंग गरेका हुन् । सन्देशले स्न्याचमा १ सय ९ केजीसहित क्लिन एन्ज जर्कमा १ सय ३७ केजी गरी कुल २ सय ४६ केजी वजन उठाउँदै स्वर्ण जिते । एपीएफका सुजन विकले रजत तथा धनुषाका उज्ज्वल कुमार मिश्राले कांस्य जिते ।

सिनियर पुरुष १ सय २ केजीमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा राष्ट्रिय कीर्तिमान स्थापित गरे । उनले स्न्याचमा १ सय ११ र क्लिन एन्ड जर्कमा १ सय ५० केजी गरी जम्मा २ सय ६१ केजी भार उठाए । यसअघि, उक्त कीर्तिमान सन्देश गुरुङको नाममा थियो । सन्देशको नाममा स्न्याचमा १ सय ३ केजी र क्लिन एन्ड जर्कमा १ सय ३५ केजीको राष्ट्रिय कीर्तिमान थियो । आर्मीका विनोद खड्का दोश्रो तथा एपीएफका रणबहादुर नगरकोटी तेश्रो भए ।

नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पुरुष ८९ केजीमा नेपाल प्रहरीका ओमप्रकाश वैश्य पहिलो भए । उनले स्न्याचमा १ सय ५ केजी र क्लिन एन्ड जर्कमा १ सय ३० केजी गरी कुल २ सय ३५ केजी भार वहन गरे । नेपाली सेनाका दिनेश कार्की दोश्रो तथा एपीएफका सन्तोष चौधरी तेश्रो भए । सिनियर महिलाअन्तर्गत ७६ केजीमा प्रहरीकी तारादेवी पुनले स्न्याचमा ६९ केजी र क्लिन जर्कमा ९३ केजी गरी जम्मा १ सय ६२ केजी भार उठाउँदै पहिलो भइन् । ८१ केजीमा प्रहरीकी जानकी बुढा पहिलो भइन् । जानकीले स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ७८ केजी गरी जम्मा १ सय ३८ केजी वजन उचाल्दै स्वर्ण जितिन् । ८७ केजीमा प्रहरीकी विद्या राई पहिलो भइन् । विद्याले स्न्याचमा ६३ केजी र क्लिन एनड जर्कमा ७८ केजी गरी कुल १ सय ४१ केजी वजन उचालिन् । एपीएफकी निशाना बलाल दोश्रो भइन् । ८७ केजीमाथि नेपाल आर्मीकी अस्मिता राई पहिलो भइन् । अस्मिताले स्न्याचमा ५० केजी र क्लिन एन्ड जर्कमा ६० केजीसहित कुल १ सय १० केजी भार उचालिन् ।

सिनियर पुरुषको १ सय ९ केजीमा प्रहरीका राजीव महर्जन पहिलो भए । उनले स्न्याचमा १ सय ७ केजी र क्लिन एन्ड जर्कमा १ सय २५ केजी गरी जम्मा २ सय ३२ केजी वजन उचाले । १०२ केजीमाथि आर्मीका पुकार गुरुङले पहिलो स्थान कब्जा गरे । उनले स्न्याचमा १ सय २० केजी र क्लिन एन्ड जर्कमा १ सय ४० गरी कुल २ सय ६० केजी भार वहन गरे । प्रहरीका सागर भण्डारी दोश्रो तथा सिरहाका प्रतापकुमार चौधरी तेश्रो बने ।

तीनदिने प्रतियोगिताअन्तर्गत पुरुष/महिलातर्फ सिनियर/जुनियर/युथमा गरी १ सय ४३ खेलाडीले विभिन्न ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय प्रतियोगिताअन्तर्गत पुरुषको २४ औं तथा महिलाको ९ औं संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्