कोरोना संक्रमण बढ्दै, माघमा उत्कर्षमा पुग्नसक्ने अनुमान

पाँच जिल्लामा ५ सय बढी सक्रिय संक्रमित



काठमाडौं ।

पछिल्लो समय ओमिक्रोन भेरियन्ट नेपालमा पनि फैलिएसँगै संक्रमितको संख्या बढ्न थालेको छ । बुधबार ३ हजार ७५ जना नयाँ सक्रमित थपिएकोमा बिहीबार नयाँ संक्रमितको संख्या ३ हजार ५ सय ५३ पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार नाघेको छ । यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरले हुने क्षतिलाई विश्लेषण गर्दै गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने प्रक्षेपण गरेको छ । मन्त्रालयले पुसदेखि आउने वैशाखसम्मको कोरोनाको अवस्था आंकलन गर्दै माघको दोस्रोदेखि तेस्रो साताका बीचमा संक्रमण उत्कर्षमा पुग्ने देखिएको बताएको छ । माघमा मात्रै डेढ लाख बढी संक्रमित थपिने मन्त्रालयको अनुमान छ ।

मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डाक्टर पवनजंग रायमाझीले माघको १५ तिर संक्रमण उत्कर्षमा पुग्ने उल्लेख गर्दै गम्भीर संक्रमितहरूको संख्या झन्डै १५ हजार पुग्ने सम्भावना व्यक्त गर्नुभयो । त्यस्तै, मध्यम लक्षण भएका संक्रमितको संख्या ४५ हजार पुग्ने अनुमान गर्दै उहाँले यो अवधिमा कोरोनाका सामान्य संक्रमित संख्या २ लाख ४० हजार पुग्न सक्ने बताउनुभयो । निर्देशक रायमाझीले अहिले अनुमानित बिरामीको संख्यालाई लिएर सोहीअनुसार मन्त्रालयले स्रोत व्यवस्थापन गर्ने काम गरिरहेको जानकारी दिँदै प्रक्षेपण गरेभन्दा बिरामीको संख्या धेरै उकालो नलागे अहिले भइरहेकै स्रोतले धान्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

विश्वको परिप्रेक्षमा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढी देखिए पनि नेपालमा भने डेल्टा भेरियन्टको संक्रमण बढीे देखिएको छ । नयाँ भेरियन्ट ओमिक्रोनभन्दा डेल्टा भेरियन्ट बढी हानिकारक देखिएको छ । ओमिक्रोन छिटो छिटो सर्ने भएकोले केही सातापछि नेपालमा पनि नयाँ भेरियन्ट ओमिक्रोन सक्रमितको संख्या नै बढी हुने चिकित्सकहरूको अनुमान छ । डेल्टाको तुलनामा ओमिक्रोनले जटिलता कम ल्याउने पनि अनुसन्धानका क्रममा पत्ता लागेको छ । ओमिक्रोन छिटोछिटो सर्ने भएकोले शरीरमा छिटो छिटो एन्टिबढी उत्पादन हुने चिकित्सकहरूको भनाइ छ । कोरोनाविरुद्धको खोपसम्बन्धी युरोपको सल्लाहकार समितिले पनि अब कारोना संक्रमण रोक्न सहज हुने धारणा व्यक्त गरेका छन् ।

कोरोना संक्रमण बढ्न थालेसँगै सरकारले नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गरिसकेको दाबी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सामाजिक सञ्जालमा पोस्ट गर्दै कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै नागरिकको जीवन रक्षाप्रति सरकार संवेदनशील रहेको दाबी गर्नुभएको छ । खोप अभियान तीव्र गतिमा अगाडि बढेको भन्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड अपनाउन सबैमा आग्रह पनि गर्नुभएको छ ।

नेपालमा नयाँ भेरियन्टसहित कोरोना संक्रमण बढ्न थालेसँगै अस्पताल, प्रतिष्ठान, प्रयोगशाला सबैमा स्वीकृत भएअनुसारको आवश्यक जनशक्ति दुरुस्त राख्न स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपत व्यवस्थापन इकाइले निर्देशन दिएको छ । इकाइका प्रमुख डा. समिरकुमार अधिकारीका अनुसार कोरोना संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्वीकृत दरवन्दीअनुसार कुनै पनि पद रिक्त भएमा तत्काल जनशक्तिको व्यवस्थापन गर्न र करार भर्ना भएका स्वास्थ्यकर्मी, कर्मचारीहरूको करार अवधि आवश्यक्ता अनुसार माघदेखि बढीमा तीन महिना थप गर्न सकिने गरी सचिवस्तरीय निर्णय भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा थप तीन हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ४ सय ९८ पीसीआर परीक्षण गर्दा दुई हजार ९ सय २२ जनामा र चार हजार ५ सय ८३ एन्टिजेन परीक्षण गर्दा ६ सय ३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्र १ हजार ९ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४ सय ४९, भक्तपुरमा १ सय ५० र ललितपुरमा ३ सय १७ संक्रमित थपिएका छन् । त्यस्तै, २४ घण्टामा २ सय ७१ जना संक्रमणमुक्त भएका छन् ।

अहिले १४ हजार २ सय ४० सक्रिय संक्रमित छन् । बितेको २४ घण्टामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १० पुगेको छ । बिहीबारसम्म २५ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ भने १ सय १० जनाको आईसीयुमा उपचार भइरहेको छ । संस्थागत आइसोलेसनमा रहनेको संख्या ८ सय ३७ रहेको छ ।

हालसम्म आठ लाख ४१ हजार २ सय ९७ संक्रमित भएको मन्त्रालयले जनाएको छ । ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएपछि संक्रमण तीव्र रूपमा बढेको छ । संक्रमण बढेसँगै सरकारले स्वास्थ्य मापदण्ड पालनालाई कडाइ गर्दै लगेको छ । हाल भीडभाड नियन्त्रणमा जोड दिँदै आएको सरकारले तत्काल निषेधाज्ञा जारी गर्ने सोच भने नबनाएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले बताउनुभएको छ । उहाँले कोरोना नियन्त्रणको लागि सरकारले विशेष तयारीका साथ काम गरिरहेकोले निषेधाज्ञा जारी गर्नै परे पनि आवश्यक ठाउँ हेरेर मात्र गरिने बताउनुभएको छ ।

पाँच जिल्लामा ५ सय बढी सक्रिय संक्रमित
काठमाडौं उपत्यकासहित मोरङ र कास्कीमा पनि कोभिड–१९ को सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बिहीबार दुई जिल्ला मोरङ र कास्कीमा पनि सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी रहेको छ ।

योसँगै सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी हुने जिल्ला ५ पुगेको छ । यसअघि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी थियो ।

यो पनि पढ्नुहोस् :
टिचिङ अस्पतालका ६० भन्दा धरै डाक्टर र नर्समा कोरोना संक्रमण

प्रतिक्रिया दिनुहोस्