साउथह्याम्टनको सहज जित



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्टनले सहज जित निकालेको छ । साउथह्याम्टनले घरेलु मैदानमा ब्रेन्टफर्डमाथि ४–१ को फराकिलो गोलअन्तरको जित आत्मसात गरेको हो । घरेलु मैदान सेन्ट मेरिजमा मंगलबार राति भएको खेलमा साउथह्याम्टनको जितमा जान वेडनारेक, अर्मान्डो ब्रोजा र चे एडाम्सले एक–एक गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्रेन्टफर्डका भिटाली जानेल्टले एक गोल फर्काए ।

खेलको पाँचौँ मिनेटमा जान वेडनारेकको गोलबाट साउथह्याम्टनले शुरुवाती अग्रता लिएको थियो । २३औं मिनेटमा भिटाली जानेल्टले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ३७औं मिनेटमा अल्भारो फर्नान्डेजले आत्मघाती गोल गरेपछि साउथह्याम्टनले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

खेलको ४९औं मिनेटमा अर्मान्डो ब्रोजाले गोल गर्दै खेललाई ३–१ को आरामदायी स्थितिमा ल्याउँदै टोलीलाई सहज जिततर्फ अघि बढाए । खेलको ७०औं मिनेटमा चे एडाम्सले गोल गर्दै टोलीको जित पक्का गरे । जितसँगै साउथह्याम्टनको २० खेलबाट २४ अंक भएको छ । पराजित ब्रेन्टफर्डको २३ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्