कर्मचारी युनियनको चुनावी तयारी पूरा



काठमाडौं ।

नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । माघको ८ देखि १० गतेसम्म काठमाडौंमा हुने आठौं महाधिवेशनको सम्पूर्ण तयारी सकिएको युनियनले जनाएको छ । महाधिवेशनअन्तर्गत सम्पूर्ण जिल्ला, केन्द्रीय सचिवलाय तथा विभागीय अधिवेशन सम्पन्न भइसकेर मतदाताको नामावलीलाई अन्तिम रूप दिने काम भइरहेको युनियनले जनाएको छ ।

कोरोना महामारी ह्वातै बढेकाले युनियनको महाधिवेशनमाथि प्रश्न उठिरहेका बेलामा युनियनले वर्तमान नेतृत्व सरकारसँग अनुमति लिएर स्वास्थ्य मापदण्ड कडाइका साथ अपनाएर आफ्नो ८ औं महाधिवेशन गर्न लागेको हो ।

युनियनका उपमहासचिव दुर्गा फुयाँलले महाधिवेशनमा सहभागी युनियनकर्मीलाई कसरी सुरक्षित रूपमा महाधिवेशनमा सहभागी गराउने भन्ने विषयमा छललफल भइरहेको बताउनुभयो । उहाँले सरकारसँग अनुमति लिएर महाधिवेशन तोकिएको समयमा नै गराउने जानकारी दिनुभएको छ ।कोरोनाको संक्रमण बढेपछि सरकारले आउँदो माघ १२ गते सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन गर्दैछ । त्यस्तै, माघ ७ गते इन्जिनियर्स एसोसिएनको पनि महाधिवेशनका लागि मतदान हुने कार्यक्रम छ ।

लामो समय रोकिएको इन्जिनियर्स एसोसिएन महाधिवेशनको मतदान माघ ७ गतेका लागि तोकिएको छ । त्यस्तै, एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको समेत महाधिवेशन माघको १४ गतेदेखि १६ गतेसम्म हुँदैछ । निजामती कर्मचारी युनियनको महाधिवेशन माघमा तोकिएकै समयमा गर्नैपर्ने बाध्यता भएकाले कुनै पनि हालतमा नरोकिने बताइएको छ ।
युनियनको वर्तमान कार्यसमितिको म्याद चैत्रसम्म मात्र भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर तोकिएकै मितिमा महाधिवेशन गर्ने तयारी गरिएको हो ।

अहिले लकडाउनकै अवस्था नभएको र पछाडि अझ कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा लकडाउन भएमा युनियनको वैधानिकतामाथि प्रश्न उठ्ने भएकाले पनि युनियनको वर्तमान नेतृत्व समयमा नै महाधिवेशन गराउन लागेको उपमहासचिव फुयाँलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्