पोखरा उपत्यकामा जलपक्षी गणना शुरू



कास्की ।

पोखरा उपत्यकामा जलपक्षी गणना शुरु भएको छ । सन् १९८७ देखि वर्षेनी नियमितरूपमा गरिँदै आएको जलपक्षी गणना कार्यक्रम मंगलबारदेखि पोखरा उपत्यकामा रहेका तालहरुबाट शुरु गरिएको हो । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिकरूपमा गणना र अभिलेख राखिएको छ । यो गणना आज बुधबारसम्म जारी रहनेछ ।

प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पक्षी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ–संस्थाको सहभागिता हुने गर्दछ । यस वर्ष पनि पुस १७ देखि माघ ५ (जनवरी १ देखि १९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी तालतलैया र नदीका भागमा जलपक्षीको गणना गरिने पोखरा पक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधि मनशान्त घिमिरेले बताउनुभयो ।

सिमसारमा आश्रित पानीचराको अवस्था पत्ता लगाउन, संख्याको अध्यावधि गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपक्षीहरूको अनुगमनर गणना गर्ने गरिन्छ । दक्षिण एसियामै पहिलोपटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउन्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाइमा सन् २००४ देखि पोखरा उपत्यकामा शुरु गरिएको पानीचरा गणना पोखरामा रहेका केही पथ प्रदर्शक, नेपाल पक्षी संरक्षण संघ पोखरा र पछिल्लो समयमा पोखरा पक्षी समाजको संलग्नतामा गर्दै आएको छ ।

पहिलो दिन विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रूपा तालमा तथा दोस्रो दिन फेवातालमा जलपक्षी गणना कार्यक्रम गरिने टाइगर माउन्टेन पोखरा लजका नेचुरलिस्ट झलक चौधरीले जानकारी दिनुभयो । वर्ष टाइगर माउन्टेन पोखरा लज, पोखरा पक्षी समाज, हिमालयन डटर्स बर्ड क्लब, नेपाल पक्षी संरक्षण संघ पोखरा शाखा, पर्यटन गाइड, संरक्षणकर्मी, पत्रकार, पक्षी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकायहरुको सहभागिता रहने संघका अध्यक्ष घिमिरेले बताउनुभयो ।

समाजका अध्यक्ष घिमिरेका अनुसार हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानीचराको अभिलेख गरिए पनि वर्षैभरि गरिने अध्ययनमा १ सय २ प्रजातिका पानीचरा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्