बोरा ओढेर चिसो छल्दै चेपाङ



हेटौंडा ।

मकवानपुरको अतिविकट राक्सिराङ गाउँपालिका–७ बेसीटोलका करिब ६५ वर्षीय लोकबहादुर प्रजा (चेपाङ) जाडो लागेपछि चिन्तित हुनुहुन्छ । उहाँको चिन्ताको कारण हो प्रत्येक वर्षको जाडो कसरी छल्ने भन्ने ।

पहिला ओढारमा बस्ने उहाँ गिठ्ठा र भ्याकुर खाने गर्नुहुन्थ्यो । उहाँसँग न लगाउने कपडा छ, न त खान पर्याप्त खाना नै छ । बोराको ‘कपडा’ बनाएर ओढ्ने–ओच्छ्याउनेबाहेक विकल्प छैन उहाँसँग । ओढारमा लामो समय जीवन बिताउनुभएका चेपाङ खरको झुपडीमा बसे पनि ओढ्नेओच्छ्याउने नहुँदा दाउरा, काठका मुढा जम्मा गर्नुहुन्छ, अनि आफू सुत्नेछेउमा आगो बालेर तातोले निदाउने प्रयास गर्नुहुन्छ । आगो बालेर तातो भएपछि निदाउँदा कयौंपटक आगोले खुट्टा जलेको उहाँ सुनाउनुहुन्छ ।

चिसो बढेपछि ५५ वर्षीय रामसिं प्रजाको चिन्ता पनि उस्तै छ । गिठ्ठा र भ्याकुर खाने, ओढार तथा खरको झुपडीमा बस्ने उहाँलाई पनि चिसो कटाउन हम्मे परेको छ । चिसोमा उहाँ पनि बोराको सहारामा जिउने गर्नुभएको छ । विष्णुमाया प्रजाको पनि चिन्ता उस्तै छ । ६२ वर्षीया विष्णु एकल महिला हुनुहुन्छ । जाडो बढेपछि चेपाङ समुदायलाई चिन्ताले यही सताउँछ । ओढार र खरको छानोको बास, खाद्यान्न अपुग र न्यानो कपडाको अभावले सताएको हो । यी पात्रहरु चेपाङ समुदायको प्रतिनिधि पात्रमात्र हुन् । यी र यस्ता कयौं पात्रहरु जाडो कसरी कटाउने भन्ने चिन्तामा छन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–७ का स्थानीयको अनुहारमा बुधबार भने खुसी छायो । खुसीको कारण थियो यसपालिको जाडोमा न्यानो कपडा अर्थात् ओढ्न ब्ल्याङ्केट पाएपछि । अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको पालिकाका अतिविपन्न घरधुरी चेपाङ समुदायलाई डिभाइन युथ क्लब नेपाल हेटौंडाले ५४ थान ब्ल्याङ्केट वितरण गरेको थियो ।
ब्ल्याङ्केट लिन वडा नम्बर ७ बाट करिब साढे २ घण्टा हिँडेर चेपाङहरु आएका थिए । ब्ल्याङ्केट बितरण कार्यक्रममा राक्सिराङ गाउँ पालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, डिभाइन युथ क्लब नेपाल हेटौंडा अध्यक्ष सरोज न्यौपाने, कार्यक्रम संयोजक सागर पन्थीलगायतको उपस्थिति थियो ।

पालिकाले चेपाङ समुदायका लागि बिजुली कार्यक्रम, चेपाङ, चिउरी, चमेरो प्रवद्र्धन कार्यक्रम, चेपाङ संस्कृति कार्यक्रम, खरको छानो विस्थापनलगायत कार्यक्रम सञ्चालन गरेको पालिकाका सूचना अधिकृत अञ्जन हटुवालले बताउनुभयो । चेपाङ समुदायका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउन छात्रवृत्ति र दिवा खाजाको पालिकाले व्यवस्था मिलाएको उहाँको भनाइ छ । मकवानपुरको राक्सिराङ गाउँ पालिकामा नेपालका सबभन्दा बढी चेपाङ समुदायको बसोबास छ । हावापानीका हिसाबले पालिकामा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि जाडोमा न्यूनतम ५ डिग्रीसम्म पुग्ने गरेको छ ।

घरधुरी सर्वेक्षण (२०७५) अनुसार पालिकामा ३० हजार ३० जनसंख्या रहेकोमध्ये ३७ प्रतिशत अर्थात् ११ हजार ४ सय ७ चेपाङ छन् । ९ वडा संख्या रहेको पालिकाको ४, ६, ७ र ९ नम्बर वडामा चेपाङ समुदायको बाहुल्यता छ ।

प्रतिक्रिया दिनुहोस्