पाँच महिनापछि भेटिए एयरपोर्टमा हराएका बालक



काबुल, (एजेन्सी) ।

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक र सहयोगी फिर्ता लैजाने क्रममा आफ्ना आमाबुबाबाट छुट्टिएर हराएका एक शिशुको अन्ततः ५ महिनापछि परिवारसँग पुनर्मिलन भएको छ । तालिवानले गत अगस्टमा अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँबाट भागेर मानिसहरू अन्यत्र जाने प्रयास गरेका थिए । सोही क्रममा ती बालक हराएका थिए । हजारौं मानिस काबुल विमानस्थलमा छिर्न लागेका बेला भीडमा किचिन नदिन दुईमहिने बालक सोहेल अहमदीलाई एक अमेरिकी सैनिकलाई समात्न दिइएको थियो । तर, विमानस्थलभित्र प्रवेश गरिसकेपछि सोहेलको परिवारले उनलाई फेला पार्न सकेन । सोहेलको खोजी तीव्र पारिए पनि सबै प्रयास व्यर्थ भएको थियो ।

उनका पिता मिर्जा अलि अहमदी अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको काम गर्थे । सोहेल फेला नपरेपछि मिर्जा अलि र उनकी पत्नी अरू चार सन्तानसहित अमेरिका जाने विमान चढे । महिनौंसम्म सोहेल कहाँ छन् भन्ने उनीहरूलाई अत्तोपत्तो थिएन । तर, सोहेलको खोजी परिवारले गरिरहेको वियषमा गत नोभेम्बरमा रोएटर्समा समाचार आएपछि २९ वर्षीय ट्याक्सीचालक हमिद सफीको घरमा उनी छन् भन्ने पत्ता लाग्यो ।

रोएटर्सका अनुसार सफीले सोहेललाई विमानस्थलको भुइँमा एक्लै रोइरहेको अवस्थामा फेला पारेका थिए । सोहेलका आमाबुबालाई खोज्ने प्रयासपछि सफीले उनलाई आफ्नै घरमा लगेर आफ्नो सन्तानसरह हुर्काउने निर्णय गरेका थिए । उनी विवाहित हुन् र उनका छोराछोरी छन् ।

सफी परिवारले सोहेलको नाम मोहम्मद अबेद राख्यो । सफीको फेसबुक पेजमा उनीहरूले सोहेलसहित परिवारको तश्वीर राखे । सोहेल कहाँ छन् भन्ने पुष्टि भएपछि उनका हजुरबुबा मोहम्मद कसिम रजावीले उत्तरपूर्वी बदाख्सान प्रान्तदेखिको लामो यात्रा गरेर काबुल आई आफ्नो नाति फिर्ता गर्न आग्रह गरे । तर, सफीले फिर्ता गर्न अश्वीकार गरेका थिए ।
रोएटर्स समाचार संस्थाका अनुसार सफीले त्यसका लागि उनका परिवारलाई पनि अमेरिका लगिनुपर्ने माग गरेका थिए । सात हप्ताको वार्तापछि र सफीलाई केही समय थुनामा राखेपछि तालिवान प्रहरीले दुई परिवारबीच कुरा मिलाएको थियो । त्यसैअनुसार शनिबार ती बालक उनको हजुरबुबालाई फिर्ता गरिएको रोएटर्सले जनाएको छ ।

सोहेलको परिवारले भिडिओमार्फत पुनर्मिलन भएको दृश्य हेर्न पाउँदा आफूहरू निकै खुसी भएको बताएको छ । ‘गीत गाउने, नाच्ने गरेर उत्सव मनाइयो’, रजावीले भने– ‘साँच्चै नै विवाहमा जस्तै रमाइलो भयो ।’सोहेललाई अमेरिका पुर्याउने व्यवस्था छिट्टै गरिने आशा परिवारले व्यक्त गरेको छ । उनीहरू अहिले अमेरिकाको मिसिगन राज्यमा बसोबास गर्छन् ।

प्रतिक्रिया दिनुहोस्