मास्क नलगाए कारबाही



भक्तपुर ।

बढ्दो कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले फेरि अभियान शुरू गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रशासनलाई मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्न सहमति दिएको छ । बैठकले मास्क अभियान सञ्चालन गर्न नगरपालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

कोरोना भाइरसको बढ्दो संक्रमणसँगै आउन सक्ने विपत्लाई न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मास्क अभियान सञ्चालन गरी मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो । त्यस्तै, सार्वजनिक यातायातका साधनमा मास्कलाई कडाइ गर्ने, घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्ने निर्णय भएको छ । बैठकले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई समेत प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै, सम्पूर्ण सार्वजनिक निकायमा आउने सेवाग्राहीलाई खोप लगाउन प्रोत्साहित गर्ने, यसको सूचना स्वास्थ्य कार्यालयले तयार गरी सबै कार्यालयहरूमा पठाउने निर्णय भएको प्रजिअ शर्माले बताउनुभयो । सबै सरकारी अस्पताल, नियमित खोप सञ्चालन गर्न सूचीकृत गैरसरकारी अस्पताल, निजी अस्पताल र घना बस्ती रहेका क्षेत्रमा नियमित खोप केन्द्र तोकी नियमित खोप अभियान सञ्चालन गर्ने निर्णय भएको छ । १२ वर्ष वा सोभन्दा माथिका स्थानीय तहका लक्षित समूह, पहिलो र दोस्रो खोपको मात्रा नलगाएकाहरूको विश्लेषण गरी आवश्यक मात्रामा खोप केन्द्रको व्यवस्था गर्ने र खोपको प्रचार प्रसारलाई तीव्रता दिने निर्णय भएको प्रजिअ शर्माले बताउनुभयो ।

जनप्रतिनिधि र सुरक्षा निकायको सहयोग र समन्वयमा खोप अभियानलाई प्रभावकारी बनाई पूर्ण खोपको सुनिश्चितता गराउन सहजीकरण गर्ने, खोपको पहुँच र कभरेज वृद्धिका लागि शिक्षा समन्वय इकाई, प्याब्सन र एन प्याब्सनमार्फत निरन्तर प्रचारप्रसार र सहयोग गर्ने निर्णय भएको छ । बैठकले संक्रमणका कारण अस्पतालहरूमा आउन सक्ने बिरामीको चापलाई समेत ध्यानमा राखी सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बैठकले जिल्लाका सबै सरकारी र निजी अस्पतालहरूलाई तयारी अवस्थामा राख्ने, अक्सिजन तथा आवश्यक सामग्रीको आवश्यक मात्रामा भण्डारण गर्ने, स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

बैठकले जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि नगरपालिकाका हटस्पट पहिचान गरी राजनैतिक दल र जनप्रतिनिधिसँग आवश्यक समन्वय गरी परीक्षणलाई बढाउने निर्णय गरेको छ । भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर चेम्बर अफ कमर्सको सहयोग र समन्वयमा व्यक्तिगतरूपमा प्रयोग भएका र स्टक रहेका ग्यास सिलिन्डरहरू सम्बन्धित उद्योगमा फिर्ता गर्न पहल गर्ने, जिल्लाका सीमा नाकामा सुरक्षा निकायले कडाइका साथ जाँच गर्ने निर्णयसमेत बैठकले गरेको प्रजिअ शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्