हुम्लामा हिमपात : हवाई सेवा अवरुद्ध, जनजीवन कष्टकर



हुम्ला ।

हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आइतबार साँझदेखि हिमपात शुरू हुँदा अन्तर जिल्ला पुग्ने हवाई उडान हिजो सोमबार बिहानबाटै प्रभावित भएको छ ।

हिमपातले गर्दा जिल्लाको एक मात्रै यातायात सेवा हवाईजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी हुन समेत सकेको छैन ।

हिमपातका कारण चिसो अत्यधिक बढेको छ । यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकामभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । तापक्रम माइनस १२ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्