प्रकाशकीय : दुष्प्रचार विरुद्ध खोप



श्रद्धेय पाठक,
विश्वविख्यात प्रेस निगरानी संस्था रिपोर्टर्स विदाउट बोडर्सले भर्खरै सकिएको २०२१ सालका लागि ‘दुष्प्रचारविरुद्ध खोप’को नारा अघि सारेको थियो । तर, उसको सन्दर्भ कोरोनाविरुद्धको भ्याक्सिन थिएन, पत्रकारिताले दुष्प्रचारविरुद्ध खोपको काम गर्नुपर्छ भन्ने थियो । आज, नेपाल समाचारपत्रको २७औं वार्षिकोत्सवका उपलक्ष्यमा दुष्प्रचारविरुद्धको खोप लगाउने कार्यमा हामी कहाँनिर उभियौं, त्यस सम्बन्धमा केही अनुरोध गर्न चाहन्छु ।

कामना न्यूज पब्लिकेसन्स प्रालिको चौथो सदस्य नेपाल समाचारपत्रको जन्म २०५२ साल पुस २७ गते भएको हो । लामो समय प्रतीक्षा गरेरै यस दिवसकै दिन राष्ट्रिय दैनिक शुरू गर्नुको कारण थियो राष्ट्रिय एकताको भावनाप्रतिको समर्पण । आजको जस्तो लैङ्गिक समानता र सामाजिक सहभागिताको विचारलाई राज्यले नीतिगत रूपमा स्वीकार नगरेका बेला यस भावनाको प्रवर्द्धनका लागि राज्यको चौथो अंग मानिएको सञ्चार गृहले नै यसको वकालत गर्नु आवश्यक थियो । पछि, नेपालको संविधान, २०७२ मा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने उल्लेख गरेको अवस्थामा समेत प्रेस जगत् कुण्ठित छ भने, ६२–६३ को जनआन्दोलनअघिको अभिव्यक्ति स्वतन्त्रताको अवस्थालाई सबैले सहजै अनुमान गर्न सक्नुहुन्छ । यस्तो बेला राष्ट्रका जातजाति, समुदाय, वर्ग, क्षेत्र, लिङ्ग आदिलाई समेट्ने गरी पत्रकारिता गर्नु र सही अर्थमा प्रेसलाई आवाज विहीनहरूको आवाज बनाउनु आवश्यक थियो, त्यो राष्ट्रिय एकताको भावनाले मात्र सम्भव थियो । त्यही भावनाको अभिव्यक्ति थियो नेपाल समाचारपत्रको शुभारम्भ ।

पछि नेपालमा प्रेस स्वतन्त्रतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली २०६५ समेत जारी भइसकेका छन् । तर, विद्युतीय कारोबार ऐनअन्तर्गत पत्रकारलाई गिरफ्तार गर्ने घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पार्ने काम भएको विश्लेषण पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ लगायतको छ । यस अतिरिक्त, कोरोनाको बहानामा नागरिकको सूचनाको हक कुण्ठित पार्ने काम राज्य पक्षबाटै भएको छ । पछिल्लो समय प्रेस जगत्लगायत राज्यका सबै अंग दलीय विभाजनमा परेका छन् । नेपाल समाचारपत्रजस्तो दलभन्दा माथि उठेर राष्ट्रियता र एकताको कुरा गर्ने सञ्चार माध्यमलाई पाइलैपिच्छे असजिलो छ । पाठकको मायाबाहेक कुनै राजनीतिक शक्तिको आशीर्वाद नपाउने भएका कारण यसले थप चुनौतीको सामना गर्नुपरेको हाम्रो विश्लेषण छ । राजनीतिक दलको सदस्य बनेर मिडिया पनि चलाउने र प्रतिनिधिसभा र राज्यबाट स्रोत–साधन पाउनेजस्ता निकायका कुर्सीमा बस्ने व्यक्तिका लागि त समाचारमा पहुँच होला, तर आम पत्रकारका लागि यो सुविधा प्राप्त हुन कठिन छ । रिपोर्टर्स विदाउट बोडर्सले निकालेको वर्ड प्रेस फ्रिडम प्रतिवेदनले दुष्प्रचार विरुद्ध मिडियालाई सक्रिय गराउन खोजे पनि नेपालजस्तो मुलुकमा संरचनागत प्रवृत्तिका कारण प्रेस जगत् खोप बन्न सकिरहेको छैन ।

विगत दुई वर्षदेखि कोरोना संक्रमणका कारण प्रेस जगत्को व्यवसाय संकटमा छ । आर्थिक पक्ष एकातिर चुनौतीमा छ भने अधिकारको पक्ष अर्कातिर । समाचार पाउनु आम नागरिकको अधिकार भए पनि पत्रकार स्वयं समाचार स्रोतसम्म पुग्न नसक्ने अवस्थामा आम नागरिकको सूचनाको हक कति कुण्ठित भएको छ भनेर अनुमान गर्न गारो छैन । कोरोना भाइरसको संक्रमणका नाममा पत्रकारलाई घटना र समाचारका स्रोतसम्म पहुँच नदिँदा खोजी समाचार आउन नसक्ने र आएका समाचारमा पनि विश्वसनीयतामा प्रश्नचिह्न लाग्ने यथार्थलाई जसरी नेपाल समाचारपत्रले अनुभव गर्यो, त्यही धारणा रिपोर्टर्स विदाउट बोडर्सको पनि देखिन्छ ।

विविध कठिनाइका बाबजुद नेपाल समाचारपत्र श्रद्धेय पाठकको पक्षमा उभिएको छ, उभिरहने छ । पछिल्लो समय मुलुकमा राष्ट्रिय एकताको भावना अझ कमजोर भएको छ । सत्ता चलाउने भनिएका कुनै एक दल यस्ता छैनन् जो अनेकता वा फुटमा नफसेका हुन्, भ्रष्टाचार र कमिसनमा नलागेका हुन् । यस्तो बेला उनीहरूले आम नागरिकलाई समेट्ने र एकता प्रदर्शन गर्ने सम्भावना टाढाको विषय बनेको छ । यसैले पनि मिडिया जगत् एकीकृत ढंगले अघि बढ्नुपर्छ भनेर संस्थागत रूपमै मिडिया एलायन्स नेपाल खडा भएको छ । आम पाठकको आशीर्वाद प्राप्त भए नेपाल समाचारपत्रलगायतका मिडियाको यस प्रयासले ठोस परिणाम ल्याउने छ । अन्त्यमा, नेपाल समाचारपत्रलगायत कामना परिवारका सबै प्रकाशनलाई माया गरिदिनुहुने सबैमा हार्दिक आभार तथा निरन्तर सद्भावको अपेक्षा ।

दिरेकलाल श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक

प्रतिक्रिया दिनुहोस्