थाहा पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित



न्युज अफ नेपाल, हेटौँडा ।

थाहा आन्दोलनका प्रणेता तथा जनमुखी नेता रुपचन्द्र विष्टको ८८औँ जन्मजयन्ती तथा थाहा दिवसका अवसरमा यहाँका दुई पत्रकार सम्मानित हुनुभएको छ । उहाँहरूलाई थाहा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । मकवानपुरको थाहा नगरमा रुपचन्द्र विष्टले नै निर्माण गर्नुभएको विकास घरमा आयोजित कार्यक्रममा पत्रकारहरू शान्तराम बिडारी र कृष्णसारु मगर सम्मानित हुनुभएको हो ।

थाहा आन्दोलनले जनतालाई सूचनाको हक दिने र पत्रकारिताले पनि सोही कार्य गर्ने भएकाले थाहा दिवसमा पत्रकारिता पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ । मकवानपुरका छाप्रामा रहेका जनता जगाउने जनमुखी नेताको नाममा स्थापित पुरस्कारको रकम हरेक वर्ष मकवापुरका अग्रज पत्रकार प्रताप विष्टले उपलब्ध गराउँदै आउनुभएको छ । गत वर्ष कोरोना महामारीका कारण उक्त कार्यक्रम रोकिएकाले यस वर्ष २ वर्षको एकै पटक दुई जनालाई सम्मानित गरिएको पत्रकार विष्टले जानकारी दिनुभयो ।

दामन पोस्ट साप्ताहिक तथा दामन पोस्ट डट कमका प्रकाशक सम्पादक शान्तराम बिडारीलाई थाहा पत्रकारिता पुरस्कार २०७८ बाट सम्मानित गरिएको छ । थाहा पत्रकारिता पुरस्कार प्राप्त गरेपछि पत्रकार शान्तराम बिडारीले रुदाने र थाहाका नाममा पाएको सम्मान आफ्नो जीवनकै अमूल्य सम्मान रहेको बताउँदै पत्रकारिताबाट अझ सशक्त र जनमुखी तथा जनतालाई थाहा दिने सवालमा अझ जुझारु हुन प्रेरणा मिलेको बताउनुभयो । उहाँले आफ्नो पुरस्कार राशिबाट थाहा अभियान सञ्चालन गर्न फरक सोचका अध्यक्ष यादव रायमाझीलाई हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव तथा एपी वन टेलिभिजन, अन्नपूर्ण दैनिकका बागमती ब्यूरो प्रमुखसमेत रहनुभएका पत्रकार मगरलाई थाहा पत्रकारिता पुरस्कार–२०७७ र विगत लामो समयदेखि काठमाडौँमा रहेर पत्रकारिता तथा पत्रकारिता अध्यापन गराउँदै आउनुभएका बाट सम्मानित हुनुभयो ।

सम्मानित हुने पत्रकारलाई प्रमुख अतिथि रामनारायण बिडारी, कार्यक्रम संयोजक फरक सोचका अध्यक्ष यादव रायमाझी, थाहा नगर प्रमुख लवशेर विष्ट, मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले प्रशंसापत्र नगद तथा खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्