सिद्धेश्वर माविका कक्षाकोठामा हिटर



बैतडी ।

बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका–९ हुक्केडाँडामा रहेको सिद्धेश्वर माविका प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको छ । बालबालिकालाई चिसोबाट बचाउनका लागि विद्यालयले प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको हो ।

शिशुदेखि १० कक्षासम्मको प्रत्येक कोठामा २–२ वटा हिटर जडान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले बताउनुभयो । ‘कतिपय अभिभावकको आर्थिक अवस्था कमजोर छ’, उहाँले भन्नुभयो– ‘न्यानो कपडा खरिद गरी सबै विद्यार्थीलाई दिन नसक्ने भएकाले आफूहरुले कक्षाकोठा न्यानो गरी पठनपाठन गर्ने हेतुले हिटर जडान गरेका हौं ।’

प्रत्येक विद्यार्थीबाट २ सय रुपियाँ संकलन गरिएको र अपुग रकम विद्यालयबाट थपेर हिटर खरिद गरेर जडान गरिएको हो । जसमा ८३ हजार खर्च भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाटको भनाइ छ ।

जडान गरिएका हिटरबाट विद्यार्थीलाई हिउँदयामको चिसो छेक्न मद्दत पुग्ने तथा पठनपाठन प्रभावित नहुने विश्वास गरिएको छ । हिटर जडानपछि विद्यार्थीलाई सहज भएको छ । हिटर जडान गर्दा निकै खुसी लागेको कक्षा–८ की छात्रा वर्षा भाटले बताउनुभयो । ‘हिटर नहुँदा कक्षाकोठामा जाडो हुन्थ्यो, पढ्नसमेत समस्या हुन्थ्यो, अहिले न्यानो भएको छ ।’
‘जाडो भएर विद्यालय आउनै मन लाग्थेन’, कक्षा–१० का छात्र कृष्ण आले भन्नुहुन्छ– ‘चिसो भएर कक्षाकोठामा बसेर लेख्न नै सकिँदैनथ्यो, हिटर जडान भएदेखि पठनपाठनमा सहज भएको छ ।’ उक्त विद्यालयमा हाल २ सय ८५ जना विद्यार्थी अध्यनरत छन् ।

प्रतिक्रिया दिनुहोस्