काठमाडौं र ललितपुरमा भोलिबाट ‘फाइजर’ खोप

भक्तपुरमा मोडर्ना खोप दिने शुरु



काठमाडौं ।

सिरिन्ज अभावका कारण दुई साताअघि स्थगित कोरोनाविरुद्धको खोप अभियान भोलि पुस २७ गतेबाट हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिबाट उपत्यकामा तीनै जिल्लाका स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप अभियान शुरू गर्न लागेको हो । यसअघि पुस १३ देखि २२ सम्म खोप अभियान शुरू गरिएको थियो । मन्त्रालयले भक्तपुरमा मोडर्ना, काठमाडौं र ललितपुरमा फाइजर खोप दिन लागेको हो । मन्त्रालयका प्रवक्ता डा. गीताकौशल मिश्राले विशेषगरी १२ देखि १७ वर्ष उमेर समूहकालाई उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको पुष्टि गर्नुभएको छ ।

अन्य जिल्लाको हकमा निर्णय भएको छैन । तीनै जिल्लाका जनस्वास्थ्य कार्यालयले स्थानीय तह, निजी विद्यालयको संगठन प्याब्सन र एन प्याब्सनसँग तथ्यांक लिएर अभियाय शुरू गरेको हो । उपत्यकाका काठमाडौं र ललितपुरमा करिब ४ लाख मात्रा खोप दिने तयारी छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले स्थानीय तहसँग समन्वय गरी अभियान शुरू गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘काठमाडौंका एक महानगरसहित ९ वटा नगरपालिकाबाट तथ्यांक संकलन गरिसकेका छौं, आजसम्म दुईवटा नगरपालिकाबाट तथ्यांक आउन बाँकी छ ।’

उहाँले तथ्यांकको आधारमा स्थानीय तहसँग समन्वय गरी २ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयमै केन्द्र कायम गरी खोप अभियान सञ्चालन गर्ने जानकारी दिँदै भन्नुभयो– ‘मंगलबारबाट हामीले काठमाडौं महानगरसहित सबै पालिकामा खोप सञ्चालन गर्छौं ।’

काठमाडौं स्वास्थ्य कार्यालयले तोकिएका उमेर समूहका २ लाख ७० हजार जनसंख्यालाई खोप उपलब्ध गराउने भएको छ । सबै स्थानीय तहले करिब एक महिनाअघि विद्यार्थी र अभिभावकको नाम सम्पर्क नम्बरसहितको फाराम भरिसकेको छ । काठमाडौं महानगरपलिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले खोप अभियानको बारेमा सबै विद्यालयलाई जानकारी गराइसकेको बताउनुभयो । कामपाभित्र करिब १ लाख ६० हजार विद्यार्थीलगायत १२ देखि १७ उमेर समूहकालाई खोप लगाउने योजना बनाएको जानकारी गराउँदै भन्नुभयो– ‘सबैले खोप नलगाएसम्म अभियान जारी राख्ने तयारी गरेका छौं ।’

उहाँका अनुसार २ सयभन्दा कम विद्यार्थी भएका विद्यालयले नजिकैको विद्यालयमा गएर खोप लगाउने व्यवस्था गरिएको छ । ललितपुरका जनस्वास्थ्य कार्यालय प्रमुख सतीश विष्टले ललितपुरका सबै विद्यार्थीलाई फाइजर खोप लगाइने जानकारी दिँदै भन्नुभयो–‘ललितपुर महानगरमा एउटै खोप शुरू हुन लागेको र केही तयारी गर्नुपर्ने भएकाले मंगलबारबाट अभियान शुरू गर्ने योजनामा छौं ।’

ललितपुरमा करिब २ लाख जनसंख्यालाई खोप लगाइनेछ । ललितपुर महानगर शिक्षा विभाग प्रमुख महेन्द्र क्षेत्रीले महानगरभित्रका सबै विद्यार्थीलाई खोप दिन लागिएको बताउनुभयो । उहाँका अनुसार महानगरका करिब ७१ हजार ३ सय १ जना विद्यार्थीलाई खोप उपलब्ध गराइनेछ । ललितपुरमा पनि २ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयमा केन्द्र राखिने र सोभन्दा कम विद्यार्थी भएका विद्यालयलाई नजिकैको धेरै विद्यार्थी भएका केन्द्रबाट खोप उपलब्ध गराइनेछ ।

भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले करिब ५० हजार विद्यार्थीलाई मोडर्ना खोप लगाउने अभियान शुरू गरेको जानकारी दिँदै भन्नुभयो– ‘शुक्रबारबाट खोप लगाउन शुरू गरेका छौं, लक्षित समूहका सबै जनसंख्याले नलगाएसम्म अभियान जारी राख्नेछौं ।’ सरकारले यसअघि ५७ जिल्लाका बालबालिकालाई मोडर्ना र २० जिल्लाका बालबालिकालाई फाइजर खोप दिने बताएको थियो । तर, मोडर्ना खोप केही बाँकी रहेपछि अहिले २० मध्येका केही जिल्लामा पनि मोडर्ना खोप दिने योजना बनेको हो ।

यसअघि मन्त्रालयले ३ वटा प्रदेशका ८ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप अभियान चलाउने घोषणासहित तालिका सार्वजनिक गरेको थियो । सरकारले २०६१ मंसिरदेखि २०६६ मंसिरसम्म जन्मेका बालबालिकाका लागि खोपको व्यवस्था गरेको हो ।

उपत्यकासहित वागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली र चितवन गरी ६ जिल्ला, सुदूरपश्चिमको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेतमा फाइजर खोप लगाइने सूचना सार्वजनिक गरेको थियो । मन्त्रालयले १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।
८ जिल्लाबाहेक प्रदेश–१ को झापा, मोरङ र सुनसरी, २ को सप्तरी, धनुषा र पर्सा, गण्डकी प्रदेशको कास्की र वाग्लुङ, लुम्बिनी प्रदेशको रूपन्देही, वाग्लुङ, दाङ र सुदूरपश्चिमको कैलाली गरी १२ जिल्लामा फाइजर खोप लगाउने तयारी थियो ।

सिरिन्ज अभावका कारण अभियान हुन नसकेपछि उपत्यकाबाहेक अन्य जिल्लामा कहिलेबाट अभियान शुरू हुने भन्ने विषयमा अन्योल छ । करिब ६ लाख सिरिन्ज आएपछि बल्ल उपत्यकामा अभियान शुरू हुने भएको छ ।

९ प्रतिशतले संक्रमण बढ्यो
एक सातायता कारोना संक्रमण दर उच्च भएको छ । पछिल्लो समय परीक्षण गर्दा ९ प्रतिशतलाई संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा संक्रमण दर हजारको हाराहारीमा पुग्न थालेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ६७ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा‍. संगीताकौशल मिश्राले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पीसीआर परीक्षणबाट ८ सय ४१ र एन्टिजेन परीक्षणबाट ३ सय २६ गरी १ हजार १ सय ६७ जनालाई संक्रमण पुष्टि भएको हो । विभिन्न परीक्षण केन्द्रमा ८ हजार ८ सय ४८ पीसीआर र ३ हजार ७ सय ८३ एन्टिजेन गरी १२ हजार ६ सय ३२ नमुनाको परीक्षण भएको थियो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा २ सय २४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २ जनाका मृत्यु भएको छ ।

युरोपमा नयाँ भेरियन्ट डेल्टाक्रोन फेला पर्यो
ओमिक्रोनले विश्वभर त्रास फैलिएका अवस्थामा युरोपमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । युरोपेली मुलुक साइप्रसमा डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको सो भेरियन्टको नाम ‘डेल्टाक्रोन’ राखिएको छ । संक्रमण उच्च देखिएका मुलुकमा डेल्टा र ओमिक्रोन दुवै उत्तिकै फैलिएको देखिएको छ ।

युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको वर्णशंकर भेरियन्ट डेल्टाक्रोन पत्ता लागेको बताउनुभएको छ ।
डेल्टा भेरियन्टभित्र ओमिक्रोनको जिन अस्तित्वमा रहेका कारण नयाँ भेरियन्टको नाम डेल्टाक्रोन राखिएको समाचारमा उल्लेख छ । हालसम्म २५ जना डेल्टाक्रोनका संक्रमित फेला परेका छन् ।

तर, यो भेरियन्टले थप मानिसलाई संक्रमित गरे वा नगरेको र यसको असरबारे बताउन हतार हुने वैज्ञानिकको भनाइ छ । यो भेरियन्टको असरबारे भन्ने प्रस्ट भइसकेको छैन । भाइरसको ट्रयाकिङ गर्दै आएको अन्तर्राष्ट्रिय डाटाबेस जीआईएसएआईडीसमक्ष डेल्टाक्रोनसम्बन्धी विवरण पठाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्