मनाङमा २६३ नयाँ मतदाता थपिए



मनाङ, (नेस) ।

हिमालपारिको जिल्ला मनाङमा २ सय ६३ नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय मनाङले तीनवटै स्थानीय तहबाट गत मंसिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली संकलन अभियान सञ्चालन गरेको थियो । सोही अभियानअन्तर्गत २ सय ६३ नयाँ मतदाता थपिएका हुन् ।

त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली संकलन भइरहेको छ । पहिलो चरणमा मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका तथा दोस्रो चरणमा नासों गाउँपालिकामा मतदाता नामावली संकलन गरिएको थियो ।

निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले मनाङ ङिस्याङ गाउँपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको जानकारी दिनुभयो । उहाँले ङिस्याङ गाउँपालिकाबाट २८, नार्पाभूमि गाउँपालिकाबाट १० र नासों गाउँपालिकाबाट २५ मतदाता थपिएका बताउनुभयो । थपिएकामध्ये महिलाको संख्या बढी रहेको उहाँको भनाइ छ ।

त्यसै गरी जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट २ सय मतदाता थपिएका छन् । मनाङमा बाहिरी जिल्लाका व्यक्तिले भने नामावली दर्ता गराएका छैनन् । दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ र नाम दोहोरिएको भए हट्ने उहाँको भनाइ थियो । संकलन गरिएको विवरण यही पुस १० देखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ । विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता ६ हजार ३ सय ९ पुगेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्