‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’ को लोकार्पण



काठमाडौं, (नेस) ।

शिक्षा तथा समाजसेवी सीताराम ढकालको जीवनीमा आधारित कृति ‘ज्येष्ठ नागरिक योद्धा सीताराम ढकाल’को शनिबार एक समारोहबीच लोकार्पण गरिएको छ ।
उहाँको परिवारद्धारा स्थापित सीताराम–पदमकुमारी फाउन्डेसनद्वारा आयोजित एक समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।

पुस्तकमाथि टिप्पणी गर्दै प्राडा गोविन्दमानसिंह कार्की र डा. शैलेन्दुप्रकाश नेपालले ढकालले गाउँ, टोल, समाज र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
उहाँको जीवनमा भए गरेका गतिविधिलाई चार खण्डमा विभाजित गरी प्रस्तुत गरिएको पुस्तकमा ७० लेखकका लेख तथा रचना समावेश गरिएका छन् । उहाँलाई धेरैले ‘ढकाल बा’ भनेर चिन्ने गर्दथे ।

गत वर्ष पुस ५ गते निधन हुनुभएका ढकाल भोजपुर र काठमाडौंमा आफ्नो जीवनभर सामाजिक सेवामा सक्रिय हुनुभएको थियो । उहाँ गाउँमा रहँदा घरको गहना बेचेरसमेत स्कुल बनाउने अभियानमा लाग्नुभएको थियो । ज्येष्ठ नागरिक आन्दोलनका योद्धा ढकालले गाउँमा छँदा विकास निर्माणका साथै आइपरेका समस्या, झै–झगडा समाधान गर्नेदेखि ढकाल समाजको अध्यक्ष भएर लामो समयसम्म सामाजिक कार्यमा योगदान गर्नुभएको थियो ।

विसं २०५६ मा काठमाडौं आएपछि उहाँले विशेष गरी ज्येष्ठ नागरिकको हकहितमा योगदान गर्नुभएको छोरा (प्रहरी वरिष्ठ उपरीक्षक) भीमप्रसाद ढकालले बताउनुभयो । पुस्तक लोकार्पण समारोहमा साहित्यकार विन्दु अधिकारीले समाजमा गरिबी र अशिक्षाको अन्धकार हटाउन ढकालको योगदान महत्वपूर्ण रहेकाले त्यही योगदान समेटेर पुस्तकाकारको रूपमा ल्याइएको बताउनुभयो ।

कलाकार मदनदास श्रेष्ठले स्वर्गीय ढकाल सामाजिक व्यक्तित्व मात्रै नभएर एक कुशल कलाकारसमेत भएको जानकारी गराउनुभयो । ढकालको योगदानका बारेमा साहित्यकार विप्लव ढकाल, पुस्तकका प्रधानसम्पादक कुलप्रसाद पराजुली, फाउन्डेसनका अध्यक्ष विश्वमणि गौतमलगायतले चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्