प्रेस स्वतन्त्रताका लागि पत्रकार आचारसंहिता



म्याग्दी ।

‘स्वस्थ, स्वच्छ, स्वतन्त्र मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल भन्ने मूल नारासहित म्याग्दीको सदरमुकाम बेनीमा पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा म्याग्दीमा क्रियाशील पत्रकार तथा सञ्चारमाध्यमलाई लक्षित गरेर कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस जगत् राज्यको एउटा अभिन्न अंग भएको बताउँदै प्रेसको दुरुपयोग गर्न नहुने बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रताको दुरुपयोग भएमा अन्य समस्या निस्कने भन्दै त्यसका लागि प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन र त्यसको रक्षा गर्नका लागि आचारसंहिता आवश्यक रहेकोमा जोड दिनुभयो ।

अध्यक्ष बस्नेतले पत्रकारले आचारसंहिता पटक–पटक पढ्नुपर्ने बताउँदै पत्रकारले के गर्न हुन्छ, के गर्नुहुँदैन भन्ने विषयमा राम्रोसँग ध्यान दिनुपर्ने बताउनुभयो । सञ्चारमाध्यम जनताको प्रतिनिधि भएकाले पत्रकार र सञ्चारमाध्यमले कसैले पनि प्रश्न उठाउने गरी काम गर्न नहुने बताउँदै पत्रकारिता क्षेत्रको शुद्दीकरण गर्न आवश्यक रहेकाले जिम्मेवार पत्रकारिता गर्न उहाँको सुझाव छ ।

प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले पत्रकारले संविधानको धारा १७ मा रहेको स्वतन्त्रताको हक र २७ मा रहेको सूचनाको हकको बढी प्रयोग गर्ने भए पनि धारा २८ मा रहेको गोपनीयताको हकलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सुशासनमा मिडियाकर्मीले ध्यान दिनुपर्ने बताउँदै तथ्यलाई तोडमोड गरेर समाचार सम्प्रेषण गर्न नहुनेमा जोड दिनुभएको थियो । त्यस्तै, प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले प्रहरीबाट कहींकतै कमजोरी भएको छ भने आफू सुध्रिनका लागि तयार रहेको भनाइ राख्नुभएको थियो ।

त्यसै गरी, जिल्ला हुलाक कार्यालयका प्रमुख साधनाकुमारी श्रेष्ठले वर्गीकरणमा परेका पत्रपत्रिकाको लोककल्याणकारी विज्ञापनबापतको रकम जिल्ला हुलाक कार्यालयबाटै भुक्तानी दिन थालिएको बताउँदै सञ्चारमाध्यमको सबलीकरण र विकासमा आवश्यक सहयोग गर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पुण्य पौडेलले पत्रकारले आचारसंहिताको पूर्णरूपमा पालना गरी स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका मिडिया अनुगमनकर्ता गीता कठायतले पत्रकार आचारसंहिता अनुगमन र कारबाहीको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । हालसम्म प्रेस काउन्सिलमा सुचीकृत भएका अनलाइन ३ हजार ४१, एफएम रेडियो १ हजार १ सय ४३, नियमितरूपमा प्रकाशित भएका पत्रपत्रिका ८ सय ६२ र स्याटलाइट टिभी २ सय २१ वटा रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रम पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्