राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता



काठमाडौं ।

यही माघ १२ गते हुने राष्ट्रियसभामा सदस्यको उपनिर्वाचनका लागि मंगलबार ४३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सातवटै प्रदेशमा रहेको निर्वाचन अधिकृत कार्यालयबाट सो संख्यामा उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट १९ जनाको उम्मेदवारी परेको छ भने कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादीले २ र जनमोर्चाले १ सिटका लागि उम्मेदवारी दिएको छ ।

रिक्त १९ राष्ट्रियसभा सदस्यको पदका लागि हुन लागेको निर्वाचनमा सात महिला, तीन दलित, दुई अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात जना अन्य समूहका रहेका छन् । आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, वागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् ।

१९ सिटमा सत्ता गठबन्धनमा रहेका दलले भागबण्डा गरेका छन् । जसअनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्नेछन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले एक्लै प्रतिस्पर्धा गर्नेछ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले एक्लै १९ सीटको लागि उम्मेदवारी दिएको छ । एमालेले प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिलाबाट सुमित्रा भण्डारी र अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार तय गरेको छ । प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव, महिलाबाट बिना शाह, वागमती प्रदेशबाट खुलातर्फ गोपाल शाक्य, महिलातर्फ निरकुमारी कँुवर (निरु) दर्लामी, गण्डकी प्रदेशमा खुलातर्फ पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल र दलितबाट गोविन्दबहादुर नेपालीलाई एमालेले उम्मेदवार बनाएको छ ।

एमालेले लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल, दलितमा कृष्णबहादुर सुनार, कर्णाली प्रदेशमा खुलातर्फ चूडामणि शर्मा, महिलातर्फ गंगा थापा महत, अल्पसंख्यकबाट पदमबहादुर माझीलाई उम्मेदवार बनाएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशमा एमालेबाट खुलातर्फ डिल्लीराम भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा र दलितबाट नरेश बिक उम्मेदवार बनेका छन् ।

कांग्रेसले प्रदेश नम्बर १ मा झापाका गोपालकुमार बस्नेत, वागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा गोरखाकी कमला पन्त, कर्णालीमा सुर्खेतकी दुर्गाकुमारी गुरुङ, लुम्बिनीमा बाँकेका युवराज शर्मा र सुदूरपश्चिममा कैलालीका नारायण मिश्रलाई उम्मेदवार बनाएको छ । एकीकृत समाजवादीले प्रदेश–१ मा जयन्ती राई (महिला) र वागमतीबाट गोमा तिमल्सिना (महिला) लाई उम्मेदवार बनाएको छ । त्यस्तै, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला), कर्णालीबाट उदय बोहोरा (खुला) र सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह (महिला) लाई उम्मेदवार बनाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश २ मा उम्मेदवारी दिएको छ । लोसपाले सप्तरीका श्याम सरदार र महोत्तरीकी रुपा कुमारी यादवले उम्मेदवारी दर्ता गराएको छ । जनता समाजवादीबाट प्रदेश नं २ मा खुलाबाट मो. खालिद र अल्पसंख्यकबाट हेमराज राईले उम्मेदवारी दिनुभएको छ । त्यस्तै, प्रदेश नं १ मा रिक्त ३ सिटमध्ये २ मा राप्रपाले उम्मेदवारी दिएको छ । खुलातर्फ अम्मरबहादुर विष्ट र महिलातर्फ रञ्जु प्याकुरेलले उम्मेदवारी दिनुभएको छ ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट राजेश विश्वकर्माले उम्मेदवारी दर्ता गर्नुभएको छ । राष्ट्रियसभा उपनिर्वाचनका लागि १२ दल दर्ता भएका छन् । आयोग प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार यसरी दर्ता भएका उम्मेदवारको दाबी विरोधको उजुरी दिने दिन आज आर्थात् बुधबार तोकिएको छ । त्यस्तै भोलि र पर्सि क्रमशः उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । आगामी फागुन २० मा २० जना राष्ट्रियसभा सदस्यकै पदावधि सकिँदैछ । १९ पदमा निर्वाचनको माध्यमबाट र एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गर्ने प्रावधान रहेको छ । आयोगले मतदानका लागि प्रदेश १ मा दुई र अन्य ६ वटा प्रदेशमा एक–एक वटा मतदान केन्द्रभित्र दुई–दुई वटा मतदान केन्द्र रहने गरी आठ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र निर्धारण गरेको छ ।

प्रदेश १ मा पालिका प्रमुख तथा उपप्रमुखका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यहरूका लागि वाली संरक्षण प्रयोगशाला मतदान स्थल तोकिएको छ । प्रदेश २ का लागि महेन्द्र नारायण निधी भवन, वागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुने छ । यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल रहनेछ । निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यहरू ४ सय ३२, पालिका प्रमुख र उपप्रमुखहरू १४ सय ९३ गरी कुल २ हजार २५ जना मतदाता हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्