२५ हजार बालबालिकालाई खोप लगाइँदै



डोटी, (नेस) ।

डोटीका २५ हजार स्कुले बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहका ११ वर्षमाथि १८ वर्षमुनिका विद्यार्थीलाई मोडर्ना खोप लगाउन शुरु गरिएको हो । जिल्लाका नौवटै स्थानीय तहमा रहेका विद्यालयमा अध्यनरत ३३ हजार बालबालिकामध्ये पहिलो चरणमा २५ हजार बालबालिकालाई खोप लगाउन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयसँग २५ हजार डोज मात्रै खोप उपलब्ध भएका कारण पहलो चरणमा पुग्ने जतिलाई खोप लगाउन थालिएको र छुट भएका अन्य बालबालिकालाई दोस्रो चरणमा लगाइने जिल्ला स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन डिल्लीरमण जोशीले जानकारी दिनुभयो । हालसम्म कम्तीमा १० हजारलाई खोप लगाइएको छ ।

यो खोप फ्रिजबाट निकालेको एक महिनाभित्र लगाइसक्नुपर्ने भएकाले चाँडै लगाउन थालिएको उहाँको भनाइ छ । यहाँका ९५ प्रतिशत खोप केन्द्र विद्यालयमा नै स्थापना गरिएको र केही खोप केन्द्र अस्पताल तथा स्वास्थ्य चौकीमा स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विद्यार्थी पनि खुसीसाथ कोरोनाविरुद्धको खोप लगाउन थालेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी अमरसिंह भाटले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्