श्रमिकलाई दुःख दिए कारबाही गर्छु : मन्त्री आले



काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रेजगारका लागि विदेशमा जाने श्रमिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिनेलाई कारबाही गर्ने बताउनुभएको छ । एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपालले सोमबार मन्त्रालयमा श्रमिकले दुःख पाएको गुनासो गरेपछि उहाँले सो बताउनुभएको हो ।

मन्त्री आलेले वैदेशिक रोजगारमा जाने नागरिककै कारण देशमा रेमिट्यान्स भित्रिएकाले सोझा, सीधा नागरिकलाई अनेकन बाहनामा दुःख दिनु गलत भएको बताउनुभयो । ‘वैदेशिक रोजगारीमा जाने नागरिकलाई सबैले सम्मान गर्नुपर्छ, दुःख दिने नियतले काम कुरा गर्नु गलत हो ।’ –उहाँले भन्नुभयो । वैदेशिक रोजगारमा खाडी मुलुक जाने नागरिकका लागि आफूले सस्तो दरको हवाई टिकटको व्यवस्था गरेकाले सबै श्रमिकले उक्त टिकटको उपयोग गर्न समेत मन्त्री आलेले आग्रह गर्नुभएको थियो । आफू मन्त्री भएपछि वैदेशिक रोजगारमा जाने श्रमिकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विश्राम स्थल, खानेपानी र निःशुल्क वाईफाइको व्यवस्था गरेको उहाँ बताउनुहुन्छ । मन्त्री आलेले आफू श्रमिकका पक्षमा सधैं सकारात्मक रहेको समेत दाबी गर्नुभएको थियो ।

सो संगठनका अध्यक्ष सन्तकुमार लामाले मन्त्री आलेलाई एक ज्ञापनपत्र बुझाउनुहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारका लागि जाने श्रमिकहरुसँग आवश्यक कागजपत्र हुँदा हुँदै पनि विभिन्न बाहना देखाइ कागजपत्र नपुगेको भन्दै त्यहाँ कार्यरत कर्मचारीहरुले दुःख दिने गरेको गुनासो गर्नु भएको थियो । साथै सो संगठनले हवाई भाडामा पनि केही घटाउनुपर्ने, विमानस्थलमा श्रमिकको आवागमन तथा प्रस्थानमा सहज हुनुपर्ने, अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक संस्थाका पदाधिकारीहरुसँग हवाई भाडा व्यवस्थापनका लागि छलफल गर्नुपर्ने, वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि विमानस्थलमा दिइने दुःखको अन्त हुनुपर्ने माग राख्दै ज्ञापजपत्र पेस गरिएको संगठनका महासचिव मधुकर रिजालले जानकारी दिनुभयो ।

संगठनले पेस गरेको ज्ञापनपत्र बुझ्नुहुँदै मन्त्री आलेले श्रमिकहरुको सहजताका लागि आफू तत्पर रहेको र उक्त मागहरु कार्यान्वयन गरिने आश्वासन दिनुभएको थियो । ज्ञापजपत्र पेस गर्ने कार्यक्रममा संगठनका अध्यक्ष सान्तकुमार लामा, वरिष्ठ उपाध्यक्ष वाइबी राई, उपाध्यक्ष बाबुराम खड्का, महासचिव मधुकर रिजाल, सचिव अनिल गिरी तथा सदस्य कामेश्वर शाहको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्