पीएम कप छनोटमा बैतडी फाइनलमा



बैतडी ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा लगातार तेस्रो जित निकाल्दै बैतडी फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा कैलालीलाई ३२ रनले हराउँदै बैतडी उपाधि नजिक पुगेको हो । बैतडीले दिएको १ सय ९९ रनको लक्ष्य दिएकोमा कैलाली ३०.५ ओभरमा १ सय ६६ रनमा अलआउट भयो । शेर मल्लले नटआउट ५१ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई हारबाट जोगाउन सकेनन् । यो हारसँगै कैलाली प्रतियोगिताबाट पनि बाहिरियो । कैलालीको पारी ध्वस्त पार्ने क्रममा बैतडीका लागि विरेन्द्र नाथ, प्रदीप चन्द र गजेन्द्र बोहराले २/२ विकेट हात पारे ।

त्यसअघि, कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा १ सय ९८ रन बनायो । जसमा नरेन भट्टले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६० रन बनाए । कैलालीका लागि नरेन साउँदले सर्वाधिक ३ विकेट हात पारे । प्रतियोगिताको फाइनल खेल मंगलबार कभर्डहल मैदानमा बिहान ९ बजेदेखि शुरु हुनेछ ।

फाइनलमा कञ्चनपुर र बैतडी आमने–सामने हुनेछन् । कञ्चनपुर समूह ‘ए’ बाट शीर्ष स्थानमा रहँदै र बैतडी समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्