राष्ट्रिय कविता प्रतियोगिता र स्रष्टा सम्मान कार्यक्रम सम्पन्न



काठमाडौं ।

कविशिरोमणि लेखनाथ पौड्यालको १३८औं जन्मजयन्तीका अवसरमा सुनसरीको धरानस्थित कविशिरोमणि साहित्य साधना समाजले राष्ट्रव्यापी कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले कविशिरोमणिको जन्मजयन्तीलाई माध्यम बनाएर र अग्रज स्रष्टाहरूलाई साक्षी राखेर नयाँ पुस्ताका कविहरूको खोजी गरी पुरस्कृत गर्ने कार्यका लागि आयोजक संस्थाको उच्च प्रशंसा गर्नुभएको थियो । उहाँले पूर्वजहरूको सम्झना र अग्रजहरूको सम्मान गर्दै अनुज पुस्तालाई प्रोत्साहन गर्न सकेमात्र नेपाली साहित्यले आफ्नो अभीष्ट प्राप्त गर्न सक्ने विचार व्यक्त गर्नुभएको थियो ।

धनकुटाका वयोवृद्ध साहित्यकार टीकाप्रसाद लामिछानेलाई १० हजार नगद र प्रमाण–पत्रसहितको प्रा. टीकाप्रसाद वस्ती स्मृति पुरस्कार–२०७८ बाट पुरस्कृत गरिएको थियो । पूर्वीय जगत्का विदुरनीति, चाणक्यनीति, शृङ्गार शतक, वैराग्य शतक, छन्दशास्त्र आदिदेखि लिएर सिर्जना, अनुसन्धान र समालोचना गरी विविध क्षेत्रका दुई दर्जन कृतिका स्रष्टा ८२ वर्षीय लामिछाने उदारमना भाषा साहित्य सेवक तथा समाज सेवकसमेत हुनुहुन्छ ।

यसै गरी राष्ट्रव्यापी कविता प्रतियोगितामा धनगढीका कवि प्रेमप्रकाश सापकोटाको ‘पाइला मेटिँदै छन्’ शीर्षकको कविता प्रथम भएको थियो भने भोजपुरका कवि काँचुली बदलाको ‘देशको खोजी’ कविता द्वितीय, सुनसरीका कवि समीर गैरेको ‘मेरो देश हिजो र आज’ कविता तृतीय र सुनसरीकै कवि शोभा कोइरालाको ‘म मातृभूमिमा’ कविता सान्त्वना भएका थिए । पुरस्कृत कविहरूलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार, ३ हजार र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि डा. नेपालले प्रविधिका माध्यमबाट कविताको कलात्मक सौन्दर्यका बारेमा आफ्नो अवधारणा–पत्रसहितको अनुशिक्षण प्रस्तुत गर्नुभएको थियो भने विशिष्ट अतिथि प्रदेश नं एकका पूर्वप्रमुख प्रा.डा. गोविन्द तुम्याहाङले २०११ सालमा कविशिरोमणिलाई रथमा राखेर तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले रथ तानेर स्रष्टालाई सम्मान गरेको इतिहासको स्मरण गर्दै अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीहरूले पनि आफ्नै हातले रथ तानेर स्रष्टाको सम्मान गरेको हेर्ने आफ्नो इच्छा रहेको विचार व्यक्त गर्नुभएको थियो ।

यस वर्षको राष्ट्रव्यापी कविता प्रतियोगितामा देश र विदेशबाट प्राप्त १५० कवितामध्येमा सुभाषचन्द्र न्यौपाने, टेकनाथ घिमिरे र गोपाल देवानको निर्णायक समूहबाट प्रारम्भिक चरणमा छनोट गरिएका उत्कृष्ट १५ ओटा कवितालाई कार्यक्रममा वाचनका लागि प्रस्तुत गरिएको जानकारी आयोजक संस्थाका उपाध्यक्ष डा. भवानीशङ्कर भट्टराईले दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्