वीरगञ्ज महानगरपालिका राजश्व संकलनको दायारा बढाउँदै



वीरगञ्ज ।

वीरगन्ज महानगरपालिका कार्यालयले चालु आर्थिक बर्षको ५ महिनामा लक्ष्य अनुसार राजस्व संकलन गरेता आगामी वर्ष राजस्वको दायरा अझै बढाउने योजना बनाइएको छ । उक्त कुराको जानकारी वीरगञ्ज महानगरपालिकाको राजस्व शाखाका प्रमुख अरुण बस्नेतले समाचारपत्रसंगको कुराकानीमा बताउनुभयो ।

चालु आर्थिक वर्षमा महानगरपालिकाले ९५ करोड ४७ लाख ४ सय ७२ रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा पाँच महिनामा १८ करोड राजश्व संकलन गरेको छ । करमा छुट दिनुका साथै विभिन्न किसिमका योजनहरू ल्याएर नगरवासीलाई कर तिर्न प्रोत्साहन गरिएकोले पनि राजश्व असुलीमा सुधार आएको राजस्व शाखाका प्रमुख बस्नेतले बताउनुभयो ।

महानगर प्रमुख विजयकुमार सरावगीले आम्दानी हुनेलाई बढी र कम हुनेलाई कम कर लाग्ने गरी वैज्ञानिक कर प्रणाली लागू गरिएको बताउनुभयो । उहाँले वडा कार्यालयबाटै कर तिर्न सक्नेगरी व्यवस्था मिलाउँदै लगेको बताउनुभयो ।वीरगञ्ज महानगरपालिका कार्यालयले चालु आर्थिक वर्षको गत साउनदेखि मंसिर मसान्तसम्म महानगरपालिकाले विभिन्न शीर्षकमा १८ करोड ७३ लाख ५२ हजार १६७ रुपियाँ राजश्व संकलन गरेको हो ।

महानगरपालिकाको राजश्व व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा सम्पत्ति कर ७ करोड ६७ लाख ५८ हजार १ सय ५१ रुपियाँ, मालपोत कर ५० लाख ३५ हजार ९ सय २५ रुपियाँ, घर बहाल कर २ करोड ३४ लाख २४ हजार ५८ रुपियाँ र बहाल विटौरी कर ९ लाख ४७ हजार ५ सय २१ रुपियाँ संकलन भएको हो ।यस्तै, सवारी साधनमा लाग्ने कर २ लाख ७० हजार ९ सय ५० रुपियाँ, पूर्वाधार सेवा उपयोगमा लाग्ने कर १ करोड ९ सय रुपियाँ र विज्ञापन कर १४ लाख ७८ हजार ३४ रुपियाँ उठेको राजश्व व्यवस्थापन महाशाखाले जनाएको छ ।

यस्तै, मनोरञ्जन कर ९२ हजार ६ सय ५३ रुपियाँ, व्यवसाय रजिष्ट्रेसन दस्तुर ८७ लाख ८८ हजार, अखेटोपहारमा लाग्ने कर २९ लाख ३४ हजार २ सय ५६ रुपियाँ, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ४९ लाख २ सय ५० र अन्य स्रोतबाट बाँडफाँड नहुने ७१ लाख ६६३ रुपियाँ प्राप्त भएको राजश्व व्यवस्थापन महाशाखाले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा २० प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएको राजश्व व्यवस्थापन महाशाखाका अधिकृत पवन प्रधानले जानकारी दिनुभयो । गत आर्थिक वर्षको पाँच महिनामा वीरगञ्ज महानगरपालिका कार्यालयले १५ करोड ४९ लाख ८२ हजार ६ सय ८९ रुपियाँ संकलन गरेको थियो ।

नगरवासीलाई कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न किसिमका सुविधा दिएपछि राजश्व संकलनमा सकारात्मक प्रभाव देखिएको अधिकृत प्रधानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्