मच्छिन्द्रले एएफसी कप छनोट खेल्ने



काठमाडौं ।

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थान ओगट्दै मच्छिन्द्र एफसीले एएफसी कप छनोट खेल्ने पक्का गरेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराएर मच्छिन्द्रले एएफसी कप छनोट खेल्ने पक्का गरेको हो । टिमलाई जित दिलाउन सुनील बलले निर्णायक गोल गरेका हुन् । पहिलो हाफमा गरेको हेडिङ गोल नै मच्छिन्द्रको लागि एएफसी कप छनोट खेल्न पर्याप्त भयो ।

एसियाली फुटबल महासंघ (एएफसी) को नियमअनुसार लिग विजेताले एएफसी कप छनोट खेल्ने प्रावधान रहेको छ । तर, लिग विजेताको नाम पठाउन अहिले नै समय भएको हुँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आधा चरणको खेलमा शीर्ष टिमको प्रस्ताव राखेको थियो । जसलाई एएफसीले सहर्ष स्विकार गरेको थियो ।

एएफसी कप छनोट खेल्न एएफसीको लाइसेन्स प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ । सोअनुसार जारी लिगमा चार टिम मात्रै लाइसेन्स प्राप्त छन् । विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपीएफ, मच्छिन्द्र र मनाङ मस्र्याङदी क्लब रहेका छन् । तर, शुरुआत राम्रो नहुँदा एपीएफ पहिले नै यस होडबाट बाहिरिएको थियो । छैटौं चरणसम्म तीन टिम आर्मी, मच्छिन्द्र र मनाङ यो होडमा यथावत् रहेका थिए । सातौं चरणमा आर्मीले बराबरी खेलेपछि अर्को विभागीय टिम पनि बाहिरियो । मनाङले शनिबार ब्रिगेड ब्वाइजलाई १–० ले हराएर एएफसीको आस बाँकी राखेको थियो ।

मनाङले जितसँगै १६ अंक जोडेपछि १४ अंक बटुलेको मच्छिन्द्रले जसरी भए पनि जित्नैपर्ने दबाब बढेको थियो । जनबहालको यो टिमले सोचेअनुसार नै नतिजा पनि निकाल्यो । योसँगै मनाङ १ अंक पछि पर्दै एएफसी कप खेल्नबाट वञ्चित हुन पुग्यो । १७ अंक जोडेको मच्छिन्द्रले गत सिजनमै एएफसी कप छनोट खेल्नुपर्ने थियो । तर, एएफसी लाइसेन्स प्राप्त नभएको हुँदा गत सिजनको लिगमा दोस्रो भएको त्रिभुवन आर्मीले एएफसी कप छनोट खेल्ने भाग्य जुरेको थियो । यसपटक भने मच्छिन्द्रले शुरूदेखि नै शानदार खेल देखाउँदै एएफसीको यात्रा पहिलोपटक गर्न सक्षम भयो ।

मच्छिन्द्रले जारी लिगको छैटौं चरणमा मनाङलाई हराउनु नै एएफसीको बाटो खुलेको हो । मनाङविरुद्धको उक्त खेल गोलरहित बराबरीतिर लम्किएको थियो । दर्शकसमेत घर फर्कन थालेका थिए । तर, सुनील बलले अन्तिमतिर फ्रिकिकमा सीधै गोल गरिदिएपछि मच्छिन्द्रले शीर्ष स्थान बलियो बनाएको थियो । सुनीलले जारी लिगमा मच्छिन्द्रको लागि व्यक्तिगत ५ गोल गरिसकेका छन् ।

पुलिसको नराम्रो लिग
सात चरणका खेल समाप्तिसम्म पुलिसले मात्र एक खेल मात्रै जित्न सकेको छ । सात खेलपश्चात् पुलिसले १ जित, ३ बराबरी र ३ हारसँगै ६ अंक मात्रै जोडेको छ । यो पुलिसको सबैभन्दा नराम्रो लिग साबित भइरहेको छ । पुलिसले एक मात्र जित जावलाखेलविरुद्ध निकालेको हो । ११औं स्थानमा रहे पनि पुलिस रेलिगेसन जोनबाट १ अंकले मात्रै अघि छ । लिगमा विगतमा धाक जमाएको पुलिस रेलिगेसनबाट उम्किन पनि संघर्षरत छ ।

मच्छिन्द्रको एएफसी यात्रा
एनआरटीविरुद्ध २–१ को जित
आर्मीविरुद्ध गोलरहित बराबरी
जावलाखेलविरुद्ध २–० को जित
हिमालयन शेर्पाविरुद्ध ३–० को जित
संकटाविरुद्ध गोलरहित बराबरी
मनाङविरुद्ध १–० को जित
पुलिसविरुद्ध १–० को जित

प्रतिक्रिया दिनुहोस्