सुरक्षित खानेपानी बस्ती घोषणा



डोटी ।

डोटीको दिपायल सिलगढी नगरपालिका–५ घोलतडा गाउँको पूरै बस्तीलाई सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको छ । उक्त बस्तीलाई जिल्लाभरमा पहिलोपटक सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको हो । बस्तीमा रहेका ७८ घरधुरीमा शौचालय निर्माण गरिनुका साथै मिटरसहितका शुद्ध खानेपानीको धारा जडान गरिएपछि शनिबार एक कार्यक्रम गरी सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको वडाध्यक्ष मदन भण्डारीले जानाउनुभयो ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफ नेपाल र गैरसरकारी संस्था निड्स नेपालको समन्वय र सहकार्यमा उक्त गाउँलाई सुरक्षित खानेपानी बस्ती घोषण गरिएको निड्स नेपालका दीर्घराज ओझाले बताउनुभयो । यहाँका सबै घरहरुमा केही महिनाअघि ‘एक घर एक धारा’ निर्माण भएपश्चात् पानीमा शुद्धताको परीक्षण गरी जिल्लामा रहेको सरोकारवाला निकाय स्थानीय तह, अनुगमनपश्चात् एक औपचारिक कार्यक्रमको आयोजना गरी सो बस्तीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । उक्त गाउँलाई खुला दिसामुक्त क्षेत्रसमेत घोषणा गरिएको छ ।

विगतका वर्षमा यहाँका स्थानीय शुद्ध खानेपानीका लागि स्थानीय द्वाराखोला, सेती नदी र नाउलाको पानी उपभोग गर्न बाध्य रहेका थिए । युनिसेफ र निड्स नेपाल संस्थाले ‘एक घर एक धारा’को कार्यक्रमको थालनी गरेर घर–आँगनमै पानी पुर्याएपछि पछिल्लो समयस्वच्छ पानी उपभोग गरिरहेको दिपायल सिलगढी नगरपालिका–५ का स्थानीय दिलबहादुर भण्डारीले बताउनुभयो । ‘पानीका लागि निकै समस्या थियो, अहिले घर–घरैमा शुद्ध पानीका धारा जडान भएका छन्, नागरिकलाई निकै सहज हुनुका साथै समय पनि वचत भएको छ ।’ –उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्