पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा



काठमाडौं, (नेस) ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ आउदो माघको ५ गतेदेखि ८ गतेसम्म चितवनमा हुने भएको छ । संघले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी उक्त कुराको जानकारी गराएको हो । ‘कृषि यान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषि विकास र समृद्धि’ भन्ने मूल नारा तय गरिएको उक्त प्रदर्शनी चितवन एक्स्पो सेन्टर भरतपुरमा तय गरिएको छ ।

प्रदर्शनीको आयोजकमा संघसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहनेछन् । प्रदर्शनीको मुख्य प्रयोजकमा शलोम एग्रिकल्चर प्रा.लि., प्रयोजकमा मुक्तिनाथ कृषि कम्पनी लि. र मुक्तिनाथ विकास बैंक र सहप्रयोजकमा एनटीएस इन्डस्ट्रिज, जीसेभेन एग्रिकल्चर, एसकेटी नेपाल, कुबेर एन्ड सन्स ट्रेड, नेपाल चाइना एग्रिकल्चर सेन्टर, बिटिएल ट्रेड, नयाँ तुल्सी ग्रुप र द हाबी अटो ट्रेडिङ रहेका छन् ।

प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शनीकर्ताका, २ हजारभन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरू रहने बताइएको छ । यसै गरी २० भन्दा बढी मुलुकको प्रदर्शनीमा सहभागिता रहने छ । प्रदर्शनीमा मेड इन नेपाल प्याभिलियन पनि रहने, कृषि यान्त्रीकरण प्रवद्र्धनसम्बन्धी गोष्ठी तथा सेमिनार हुने, कृषि कर्जाको छुट्टै मेला हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्