प्रदर्शनीमा समाजवादी यात्रा



समाजवादी यात्रा नाम दिइएको कलाकृतिको पाँचदिने प्रदर्शनी राजधानीमा चलिरहेको छ। प्रदर्शनीमा दुई दर्जन कलाकारका कलाकृति राखिएको छ। नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिएको प्रदर्शनीमा आन्दोलन, गणतन्त्र, जनजीविका, श्रम, मजदुर, वित्तीय पुँजीवाद र त्यसको असर, कृषि तथा औद्योगिक क्रान्ति, सामाजिक न्याय र विभेदरहित समाजको परिकल्पना गरिएका कलाकृति रहको छ।

प्रदर्शनीमा ८० वर्षीय अग्रज कलाकार जुलुमलाल चित्रकारले गरिबीको विषयमा बनाएको चित्र छ। उनले नेपालमा गरिबी अवस्थामा परिवर्तन ल्याउन समाजवादी दिशामा अग्रसर हुनुपर्ने विचार व्यक्त गरे। चित्रकार भन्छन्– ‘कलामार्फत हामीले नेपाली समाजको रूपान्तरणको विषयलाई उठान गर्न खोजेका छौं।’ प्रदर्शनीमा सहभागी अर्का अग्रज कलाकार नारदमणि हार्तम्छालीले गणतन्त्र ल्याउन गरिएका संघर्ष र सामन्तवादी परिवेशले समाजमा पारेको प्रभावलाई चित्रण गरेका कला रचना गरिएको बताए।

उनका कलामा विभिन्न शक्तिले नेपालको सार्वभौमसत्तामाथि लगाएको कुदृष्टिलाई कलात्मकरूपमा उधिनिएको छ। प्रदर्शनीमा अग्रज कलाकार लालमान लामा, एससी सुमन, देवेन्द्र थुम्केली, केशवराज खनाल, पाल्साङ्मो लामा, कमानसिंह लामा, प्रदीप अधिकारी, रवीन्द्र श्रेष्ठ, राजकुमार राना मगर, राजकुमार खड्का, लीलाधर केसी अमर परियार, अमिर शाक्य, खेम बिके, झिग्मे लामा, शिव शेर्पाली, निरीमाया लामा, रञ्जु पुलामी मगर, पूर्णिमा पौडेललगायतका कलाकारका तीन दर्जन बढी कलाकृति छन्।

अखिल नेपाल ललितकला संघको संयोजनमा जारी प्रदर्शनीमा समाजवादोन्मुख नेपाली समाजको परिकल्पना गरिएको छ। संघका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले पार्टीको महाधिवेशनको सन्दर्भमा गरिएको कला प्रदर्शनीले नेपाली समाजको बहुआयामिकतालाई कलात्मकरूपमा उतारेको बताए। नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले नेपालमा समाजवादको विषय लिएर गरिएको यो पहिलो कला प्रदर्शनी भएको जिकिर गरे। प्रदर्शनीका लागि बुटवलबाट आएका कलाकार तथा अखिल नेपाल ललितकला संघ लुम्बिनी प्रदेश अध्यक्ष खेम बिकले सामाजिक न्यायसहितको समाजको परिकल्पना गरिएका कलाकृति प्रदर्शनीको मुख्य आकर्षण रहेको बताए।

प्रदर्शनीमा परम्परागत थाङ्का तथा पौभा शैलीमा समाज परिवर्तन र सामाजिक न्यायको समसामयिक विषयलाई समेत कलात्मकरूपमा चित्रण गरिएको छ। शैलीका दृष्टिले नया“पनको झल्को दिने गरी कलाकारले चित्र बनाएको सोफाजका अध्यक्ष खनालले बताए। प्रदर्शनीमा अग्रज थाङ्का कलाकार लालमान लामाले उज्यालो यात्रा शीर्षकमा तयार पारेको चित्र प्रदर्शनीको आकर्षण बनेको छ।

पौभा शैलीमा राजनीतिक तथा सामाजिक विषयमा कलाकार राजकुमार राना मगर, अमिर शाक्यले निकै आकर्षक चित्र बनाएका छन्। कलाकार पाल्साङ्मो लामा, झिग्मे लामा, कमानसिंह लामा तथा नीरीमाया लामाले थाङ्का शैलीमा नयाँ कला शैलीको आरम्भ गरेका छन्। मुगुका कलाकार तथा संघका कर्णाली प्रदेश सह–संयोजक झिग्मे लामाले समाजवादी यात्राको पदचाप शीर्षकमा मुगाली शैलीमा हिमाली परिदृश्य र समाजलाई उतारेको चित्र प्रदर्शनीमा राखेको बताए।

संघका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले प्रदर्शनीमा तराई मधेश, पहाड तथा हिमाली परिवेशका विविध आयाम झल्किने कलाकृति राखिएको जानकारी दिए। संघका केन्द्रीय उपाध्यक्ष प्रदीप अधिकारीले सामाजिक रूपान्तरण र अग्रगामी राजनीतिक आन्दोलनलाई कलाकृतिमार्फत कलाकारले सैद्धान्तिक आधार दिने प्रयत्न गरेको विचार व्यक्त गरे। प्रदर्शनीमा कलाकार रवीन्द्र श्रेष्ठले जनमुक्ति सेना र नेपाली सेनाको रगतबाट बनाएको चित्रले शान्ति समायोजनको विषयलाई कलात्मकरूपमा प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्