झुम्सा खानेपानी आयोजना २६ वर्षदेखि झुलेको झुल्यै



बुटवल ।

निर्माण शुरू भएको २६ वर्ष व्यतीत भइसक्दा पनि झुम्सा खानेपानी आयोजना निर्माण सम्पन्न हुन सकेको छैन । पाल्पा सिस्ने खोलाको पानी बुटवल ल्याउन गरी उक्त आयोजना आर्थिक वर्ष २०५२/०५३ मा निर्माण थालनी भएको हो । उक्त आयोजना निर्माणमा गति दिने बताउँदै पटक–पटक उद्घाटन गर्नभने छाडिएको छैन ।

बुटवलमा क्रियाशील विभिन्न १७ वटा संघ–संस्थाले आयोजनालाई छिटोभन्दा छिटो सञ्चालन गरी सम्पन्न गर्न खानेपानीको कार्यालयमै गएर दवाब दिएका छन् । त्यस्तै, आयोजनालाई छिटो पूरा गर्न होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले पनि माग गर्नु भएको छ । झुम्सा आयोजनाबाट पानी ल्याउन नेताहरूले दर्जनौँ पटक जनतासामु प्रतिबद्धता पनि जनाए तापनि प्रतिबद्धता भाषणमै सीमित भएको नुवाकोट विकास समिति अध्यक्ष माधव नेपालले नेपाल समाचारपत्रलाई बताउनुभएको छ ।

खानेपानी आयोजनाले आयोजना निर्माणमा धेरै समस्याहरू रहेको खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्टले बताउनुभएको छ । उहाँका अनुसार पछिल्लो समय ड्याम निर्माणको काम सकिएको र केही स्थानमा पाइपहरु विस्तारको काम पनि भएको छ । यदि आवश्यक बजेट र अन्य निकायको सकारात्मक सहयोग रहेमा आगामी आर्थिक वर्षसम्ममा बुटवलमा पानी ल्याउने र त्यसपछि बल्ल वितरणको काम हुने प्रमुख भटृले बताउनु भएको छ ।

बुटबलका मेलम्ची भनेर चिनिने यस आयोजना निर्माण हुन नसक्दा नगरबासीले दुई दशकदेखि हिउँदभर धारामा पानी नआउने र बर्खामा धमिलो पानी खानुपर्ने बाध्यता सहनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्