ललिता निवास जग्गा प्रकरण : सीआईबीले कार्यादेश विपरीत कार्य गरेको आरोप



काठमाडौं ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको छ । छनबिनमा कर्मचारी मात्र डेढ सयभन्दा बढी संलग्न रहेको पाइएको र पक्राउ गरी मुद्दा चलाउने तयारी भइरहेको समाचार सार्वजनिक भएलगत्तै सीआईबीको कार्यादेशमाथि प्रश्न उठ्न थालेको छ । सीआईबीले पक्राउ गरी मुद्दा चलाउने चर्चा चलेसँगै कर्मचारीहरू भूमिगत हुन थालेका छन् । साथै उनीहरूले ललितानिवास जग्गा प्रकरणमा संलग्न भएको आरोपमा सीआईबीले कारबाही गर्न पाउने कि नपाउने भन्नेबारेमा प्रश्न उठाएका छन् ।

नेपाल समाचारपत्रको सम्पर्कमा आएका एक सरकारी कर्मचारीले जानकारी दिएअनुसार २०७५ फागुन २८ गतेको मन्त्रिपरिषद् निर्णयमा सरकारी, सार्वजनिक र गुठी जग्गालाई व्यक्ति विशेषका नाममा दर्ता श्रेस्ता कायम गरी सरकारी सम्पत्ति हानिनोक्सानी पुर्याउने सरकारी कर्मचारीलाई प्रचलित कानुनबमोजिम कारबाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने भनिएको छ ।

सो मन्त्रिपरिषद्को निर्णयमा ललिता निवास क्याम्पभित्रको जग्गा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरूसमेतको मिलोमतोमा सरकारी सार्वजनिक र गुठी जग्गासमेत व्यक्तिका नाममा दर्ता श्रेस्ता कायम गर्न सहयोग गर्ने विभिन्न व्यक्तिका हकमा छानबिन गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई गृह मन्त्रालयले लेखी पठाउने भन्ने उल्लेख छ ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका सरकारी कर्मचारीहरू यसैलाई आधार मानेर सीआईबीलाई कारबाही गर्ने कार्यादेश नभएको बताइरहेका छन् । पछिल्लो समय ललिता निवास जग्गा प्रकरणबारे सीआईबीको अनुसन्धान रिपोर्टहरू सञ्चारमाध्यममा आउन थालेसँगै गृहमन्त्रीलाई प्रक्रिया रोक्न दबाब बढ्न थालेको मन्त्रालय स्रोतले जनाएको छ ।

ललिता निवास प्रकरणमा बालुवाटारभित्र रहेको सरकारी जग्गा उनाउ (हुँदै नभएको गुठी) कायम गरी उनाउ मोही बनाई मन्त्रिपरिषद्बाट निर्णय गराई गुठी कायम गराएको आरोप पनि लागेको छ । गुठी संस्थान केन्द्रीय कार्यालय त्रिपुरेश्वरले जानकारी दिएअनुसार १९६३ सालमा लगत कायम भएको श्री पशुपति टिकिन्चा गुठीको करिब १ सय ६६ रोपनी जग्गा उपत्यकाका विभिन्न स्थानमा छरिएर रहेकामध्ये यो प्रकरण मुछिएको जग्गा ३ रोपनी १३ आना ३ पैसा हो । ललिता निवास प्रकरणमा गुठीको जग्गाको बारेमा केलाउँदै जाँदा ललिता निवास क्याम्पभित्र १९८८ को लाल मोहोरबमोजिम साविक लगतमा ५ रोपनी जग्गा श्री ५ सरकार टिकिन्चा गुठीको नाममा दर्ता भएको व्यहोरा उल्लेख भएको देखिन्छ ।

गुठी संस्थानले २०६१ मंसिर ८ गतेको निर्णयबमोजिम केही जग्गा तत्कालीन श्री ५ सरकारको नाममा गुठी जनिई जग्गाधनी प्रमाणपुर्जा बनेको केही जग्गाको श्रेस्ता खाली रहेको पशुपति टिकिन्चा गुठीको लगतभित्रको ललिता क्याम्पभित्र पर्ने २१ कित्ता जग्गा टिकिन्चा गुठीको नाममा दर्ता गर्न तालुक अड्डा भूमिसुधार मन्त्रालयमा पेस गरेको देखिन्छ । गुठी संस्थानबाट स्वीकृतका लागि पेस भएका २१ कित्तामध्ये ४ कित्ता जग्गाको क्षेत्रफल ३ रोपनी १३ आना ३ पैसा जग्गा दर्ता गर्न मन्त्रिपरिषद्बाट मिति २०६९ असोज १८ गते स्वीकृत प्रदान गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्