प्राइम लाइफमा नक्कली कर्मचारी बनाएर तीन करोड घोटाला



काठमाडौं ।

प्राइम लाइफ इन्स्योरेन्समा बिमा समितिले अनुगमनका क्रममा नक्कली कर्मचारी नियुक्त गरेर ३ करोड रुपियाँभन्दा धेरै अनियमितता गरेको फेला पारेको छ । बिमा समिति बिमा कम्पनीहरूको नियामक निकाय हो ।

‘प्राइम लाइफ इन्स्योरेन्सले २९ जना कर्मचारी नियुक्त गरेको भने पनि त्यो सबै फर्जी कागजात बनाइएर नियुक्त गरेजस्तो देखाएको पाइयो’ –बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भन्नुभएको छ ।

पौडेलका अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७६/७७ मा वैदेशिक रोजगारी म्यादी जीवन बिमा व्यवसाय गर्न मार्केटिङ शाखामा कर्मचारी नियुक्त गरिएको विवरण बनाएको देखिन्छ । तर, ती सबै नाम काल्पनिक भएकाले व्यक्ति कतै फेला पर्दैनन् ।

‘अनियमितता भएको निष्कर्ष निस्किसकेको छ, को कति दोषी भन्ने कुरा बुझिरहेका छौं’, कार्यकारी निर्देशक पौडेलले भन्नुभयो– ‘कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाए पनि यसबारे विस्तृत अनुसन्धान भइरहेको छ ।’

बिमा ऐन, २०४९ अनुसार यस्तो कसुर गर्नेलाई १० हजार रुपियाँ जरिवाना वा २ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ । कम्पनीका सूचना अधिकारी चिरायु भण्डारीले भने यो विषय चार वर्ष पुरानो भएको र अहिले बाहिर ल्याएर संस्थाको बदनाम गर्न खोजेको बताउनुभयो । ‘कम्पनीले प्रक्रिया पुर्याएरै कर्मचारी नियुक्त गरेका थियो’ – भण्डारीको दाबी छ ।

कर्मचारी नियुक्त गरेर नियमपूर्वक बैंकमा उनीहरूको तलबसमेत पठाइएको भण्डारीले बताउनुभयो– ‘चार वर्ष अघिको कुरा हो अहिले खै कताबाट आयो, प्रक्रिया पुर्याएरै काम भएको हो ।’

प्रतिक्रिया दिनुहोस्