६ वर्षमा १० हजार घरमात्र पुनर्निर्माण



लमजुङ, (नेस) ।

लमजुङमा भूकम्प गएको ६ वर्ष बित्दा समेत भत्किएका घर पुनर्निर्माण नहुँदा पीडित चिन्तित छन् । हालसम्म क्षति पुगेका घरमध्ये १० हजार ४ सय ४४ मात्र पुनर्निर्माण भएका छन् ।

अनुदान तथा व्यवस्थापन गर्न शहरी विकास तथा भवन निर्माण विभाग जिल्ला कार्यान्वयन इकाइ (भवन र आवास) का अनुसार लमजुङमा ७५ प्रतिशत निजी आवास पुनर्निर्माण भएको छ । जिल्लामा रहेका १५ हजार ५ सय ७७ लाभग्राहीमध्ये १० हजार ४ सय ४४ जनाले आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ताबापतको रकम लिइसकेका छन् । ०७२ को भूकम्पले लमजुङमा १५ हजार ५ सय ७७ निजी घर भत्किएका थिए भने ८ सय ९४ घर प्रवलीकरण लाभग्राहीका सुचिमा परेको थियो ।

जिल्लामा १४ हजार ६ सय २७ लाभग्राहीले पहिलो किस्ताबापतको रकम लिएका छन् भने १२ हजार ४४ लाभग्राहीले दोस्रो किस्ता बुझिसकेका छन् । जिल्लामा ४ हजार १ सय ४३ घर निर्माणाधीन अवस्थामा छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा दूधपोखरी गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको थियो ।

यस्तै, भूकम्पपछिको पुनर्निर्माणको लाभग्राही सूचीमा सूचीकृत भएका २४ जनाले अनुदान रकम फिर्ता गरेका छन् । पूर्ण क्षतिको विवरणमा परेर घर निर्माणका लागि भन्दै पहिलो किस्ता लगेर घर नबनाएकाले उक्त रकम फिर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्