‘दुई मिनेट चालकसँग’ अभियान सञ्चालनमा



बैतडी ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बैतडीमा ‘दुई मिनेट चालकसँग’ अभियान सञ्चालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले उक्त अभियान सञ्चालन गरेको हो ।

पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढ्दै गइरहेकाले न्यूनीकरण गर्नका लागि ‘दुई मिनेट चालकसँग’ अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख आकाश रावलले जानकारी दिनुभयो । अभियानअन्तर्गत राजमार्ग र भित्री सडकहरुमा सवारी चेकजाँचमा कडाइ गरिएको छ । ‘चालकले मात्रै सावधानी अपनाएर सवारीसाधन हाँक्ने हो भने सवारी दुर्घटना कम हुने भएकाले यो कार्यक्रम चलाएका हौं, यसले दुर्घटना न्यूनीकरण हुने विश्वास छ ।’ –उहाँले भन्नुभयो ।

ट्राफिक प्रहरीले राजमार्गमा मादक पदार्थ सेवन नगरी सवारीसाधन चलाउन, तीव्र गतिमा नहाँक्न, क्षमताभन्दा बढी मान्छे नबोक्न, सवारी अनुमतिपत्र भए÷नभएको हेर्ने, बढी भाडा नलिन भनेर सम्झाइबुझाइ गर्ने गरेको छ ।

सदरमुकाम, शतबाँझ, पाटन, खोड्पे, मेलौलीलगायतका ठाउँमा सवारीसाधन चेकजाँचमा अहिले कडाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चालू आर्थिक वर्षमा अहिलेसम्म सवारी दुर्घटनामा परेर जिल्लामा १५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्