आर्मी एएफसी कप खेल्ने होडबाट बाहिरियो



काठमाडौं ।

विभागिीय टिम त्रिभुवन आर्मी क्लब आगामी एएफसी कप खेल्ने होडबाट बाहिरिएको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा आर्मीले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेलेको हो । योसँगै आर्मी एएफसी कप खेल्ने होडबाट बाहिरिनुपर्यो । चौथो बराबरी खेल्न पुगेको आर्मी उपाधि जित्ने होडमा पनि पछि परेको छ । अंकतालिकामा शीर्ष स्थानमा मच्छिन्द्र क्लब १४ अंकसहित शीर्ष स्थानमा कायमै छ भने मनाङ मस्र्याङदी क्लब १३ अंकसहित दोस्रो स्थानमा रहेको छ । यी दुईबीच अब एएफसी खेल्ने होड हुनेछ । आर्मी १० अंकसहित अंकतालिकाको चौथो स्थानमा रहेको छ । संकटा १२ अंकसहित तेस्रो स्थानमा रहेको छ । संकटाले ब्रिगेड ब्वाइज क्लबलाई हराएको हो ।

आर्मीको लागि एएफसी कप खेल्ने सम्भावना जीवितै राख्न यो खेल जित्नैपर्ने थियो । तर, पहिलो हाफमा पाएका अवसर गोलमा परिणत गर्न नसक्दा आर्मीको लागि एक अंक मात्रै बटुल्न बाध्य भएको थियो । उता, थ्रीस्टारको लागि पनि यो निराशाजनक नतिजा थियो । थ्रीस्टारले जारी लिगमा गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । थ्रीस्टारले ६ खेलमा७ अंक मात्रै जोड्न सकेको छ ।

यसअघि, संकटा क्लबले जित निकाल्दै अपराजित यात्रालाई निरन्तरता दिएको छ । संकटाले ब्रिगेड ब्वाइज क्लबलाई ३–० ले हराएको हो । टिमलाई जित दिलाउन उत्तम राईले २ तथा लक्ष्मण रुचालले १ गोल गरे । तीनै गोल पहिलो हाफमा भएका थिए । उत्तमले खेलको १२ औं मिनेटमा गोल गरेर संकटालाई १–० को अग्रतामा राखेका थिए । उनले जोर्डन जुनियरको क्रसमा हेडमार्फत् गोल गरेका थिए ।

यस्तै, उत्तमले २८औं मिनेटमा अर्को गोल गर्दै संकटाको अग्रता दोब्बर पारेका थिए । उनले फोडे फोफानाको क्रस ब्रिगेडका खेलाडीले क्लियर गर्न नसक्दा गोल गर्न सफल भए । ३८औं मिनेटमा लक्ष्मणले गोल गरेर संकटालाई स्पष्ट ३–० को अग्रतामा राखे । तर, दोस्रो हाफमा कुनै गोल नहुँदा यही नतिजासँगै संकटाले जित हात पार्यो ।

प्रतिक्रिया दिनुहोस्