सुरक्षा समिति बैठक राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित



काठमाडौं, (नेस) ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बस्यो । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले जानकारी दिनुभयो ।

‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रबन्ध कसरी गर्ने भन्ने विषयमा सुरक्षा समिति बैठकमा छलफल भयो’ –गृह सचिव पाण्डेले भन्नुभयो । बैठक निर्वाचनको सुरक्षा विषयमा केन्द्रित थियो । आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य छान्न निर्वाचन हुँदैछ ।

गृहमन्त्री खाँणको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव पाण्डे, रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालालगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्