प्रदेश १ लाई पराजित गर्दै एपिएफले जित्यो उपाधि



धनगढी ।

धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपिएफले जितेको छ । आइतबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल चरणको खेलमा प्रदेश नं.-१ लाई ७ विकेटले पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश १ ले निर्धारित २० ओभरमा ६७ रन मात्रै बनाउन सकेको थियो । सुरुवाती ब्याट्सम्यान कप्तान रुबिना क्षेत्रीले ३४ र अप्सरा वेगमले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न नसक्दा प्रदेश-१ न्यून स्कोरमा समेटिन पुगेको थियो । प्रदेश १ लाई न्यून स्कोरमा रोक्ने क्रममा एपिएफकी बलर सीता राना मगरले ३ तथा रेखा रावलले २ विकेट लिईन् ।

जितका लागि ६८ रनको लक्ष्य पक्ष्याएको एपिएफले १४ ओभर २ बल खेल्दै जित हासिल गरेको हो । एपिएफका लागि ओपनर ज्योति पाण्डेयले अविजित ३७ रन बनाइन्, भने ममता चौधरीले १७ रन बनाइन् । उपाधि हात पारेसँगै एफिएफले नगद पाँच लाख तथा ट्रफि प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्